जनकपुरधाम | सफाइ कर्मचारीले जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले गालीगलौज गरेपछि वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । सोमबार विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका हुन् ।दुर्व्यवहारमा परेका वडाध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकोले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गरेका थिए । तर मरेको गाई हटाउनुको साटो आफूलाई दुर्व्यवहार गरेको उनले बताए ।
उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको अवस्थामा थियो । मैले सफाइ कर्मचारीलाई फोन गरेँ, उहाँले फोनमै गाली गर्नुभो । कार्यालयमा पनि दुर्व्यवहार गर्नुभयो, विभिन्न अपशब्दहरु प्रयोग गर्नुभयो।’उनले नगर प्रमुख साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाइमा अनिश्चितता देखिएपछि आफूहरुले बाध्य भएर ताला लगाएको बताए ।वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले सफाइको लागि नै उपमहानगरपालिकामा ताला लगाएको बताए । उनले सफाइको लागि पाँच महिना अघि हस्ताक्षरसहित निवेदन दिएपछि त्यसमा अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए । उनले सफाइको लागि जहिले पनि ट्रयाक्टर माग्दा कर्मचारीहरुबाट दुर्व्यवहार हुनेगरेको दाबी गरे ।
तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए । वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए ।