वीरगंज | पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। अहिलेसम्म उपाधि नचुमेको अस्ट्रेलियाले बिहीबार राति भएको सेमिफाइनलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पाँच विकेट बाँकी छँदै पूरा गरेको हो।
सेमिफाइनलमा मध्य क्रमका मार्कस स्टोइनिस र म्याथ्यु वेडको सानदार प्रदर्शनपछि अस्ट्रेलियाले पाकिस्तानलाई निराश बनाएको हो। उसले १९ ओभरमा ५ विकेट गुमाएर १७७ रनको लक्ष्य पूरा गर्दै पाकिस्तानलाई हार स्वीकार गर्न बाध्य बनाएको हो। ९६ रन जोड्दा ५ विकेट गुमाएको अस्ट्रेलियाको लागि स्टोइनिस र वेडले छैटौं विकेटको लागि ८१ रनको साझेदारी गरेका थिए।वेडले पाकिस्तानी बलर साहिन शाह अफ्रिडीको १९ ओभरको ३ बलमा लगातार छक्का प्रहार गरेका थिए। स्टोइनिसले ४० र वेडले ४१ रन बनाउँदै अविजित रहे। डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए।
खेलमा टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोडेको थियो। पाकिस्तानका मोहम्मद रिजवानले ६७, फाखर जमानले अविजित ५५ र बाबर आजमले ३९ रन जोडेका थिए।यो जीतसँगै अस्ट्रेलियाले न्युजिल्याण्डसँग फाइनल खेल्ने पक्का गरेको छ। यसपटक फाइनल पुगेको न्युजिल्याण्ड र अस्ट्रेलिया दुइटै टोलीले टी–ट्वेन्टी विश्वकपको उपाधि जितेका छैनन्। विश्वकपको फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।