वीरगन्ज | बेमौसमी वर्षाले धान खेती नष्ट भएपछि किसान गहुँ छर्ने तयारीमा जुटेका छन् । खेतमै कुहिएको धान हटाएर खनजोतमा लागेका छन् । विगत झैं यसपटक पनि किसानले गहुँका लागि रासायनिक मलको अभाव भने झेल्नुपर्ने देखिएको छ । मल आपूर्ति गर्ने संस्थाका गोदाम लगभग रित्ता छन् । गहुँका लागि मात्रै होइन, वर्षापछि जोगिएको तोरी, तरकारी र केरा खेतीका लागि पनि मलको अभाव चर्को छ । किसानहरू युरिया तथा डीएपी मल नपाएर भौंतारिएका छन् । यतिबेला उनीहरूले तोरी र तरकारीका लागि भारतबाट अवैध रूपमा भित्रिएको रासायनिक मल चर्को मूल्य तिरेर प्रयोग गरिरहेका छन् । ‘चार/पाँच महिनादेखि युरिया र डीएपी पाइएको छैन, केरामा रासायनिक मल पुर्याउनै सकिएको छैन,’ केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले भने, ‘रासायनिक मलको अभावमा केराको उत्पादन पनि सप्रिएको छैन । डीएपी नपाइएपछि किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बेचिरहेको सिंगल सुपर फस्फेट (एसएसपी) को प्रयोग गरिरहेको साउदले बताए । यो पनि सकिएपछि फेरि हाहाकार हुन सक्ने उनको भनाइ छ । कञ्चनपुरमा करिब ५ सय हेक्टरमा केरा खेती गरिन्छ । ‘गहुँको तयारी सुरु भयो, मल कतै छैन,’ भीमदत्त नगरपालिका–११ का किसान नारायण साउदले भने, ‘धान वर्षाले बगायो, गहुँका लागि मल नै नपाइने जस्तो छ ।’ वर्षाले उनको दुई बिघाको धान खेती नोक्सान गरेको थियो । गाई–भैंसीका लागि पराल पनि नबचेको उनले बताए ।
कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाम लगभग रित्ता छन् । साल्ट ट्रेडिङको गोदाममा ७ सय बोरा एसएसपी (फस्फेट) छ भने कृषि सामग्री कम्पनीको गोदाम भदौदेखि रित्तो छ । डीएपी र युरिया तत्काल आउने सम्भावना पनि छैन । ‘डीएपीको साटो एसएसपी ल्याएका छौं, अहिले त्यही बिक्री भइरहेको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने, ‘तिहारपछि युरिया र डीएपी आउने सम्भावना छ । युरिया र डीएपी भने जेठदेखि आएको छैन । कृषि सामग्री कम्पनी लिमिटेडमा पनि भदौदेखि युरिया आएको छैन । रोपाइँका बेला आएको डीएपी र युरिया असारमै सकिएपछि यहाँ मलको हाहाकार भएको थियो । यस वर्ष युरिया २५ सय टन, डीएपी १८ सय टन र पोटास ७० टनको कोटा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरका प्रमुख बलबहादुर शाहले जानकारी दिए । यसमध्ये पहिलो चौमासिकमा ५४० टन डीएपी र ४७५ टन युरिया प्राप्त हुने उनले बताए । ‘अहिले गोदाममा युरिया र डीएपी केही पनि छैन,’ शाहले भने, ‘छिट्टै आउने भन्ने खबर आएको छ । तर तिहारअघि आउने सम्भावना छैन ।
दोस्रो चौमासिकमा फागुनसम्म ७५० टन युरिया र ५४० टन डीएपी थप प्राप्त हुने उनले बताए । रासायनिक मलको अभाव कञ्चनपुरमा मात्रै होइन, सुदूरपश्चिमभरि नै हुने देखिन्छ । धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदामा ११५ टन युरियाबाहेक अन्य मल छैन । तत्काल मल आउने सम्भावना पनि नरहेको लिमिटेडका प्रादेशिक प्रमुख नवलसिंह बोगटीको भनाइ छ । कृषि सामग्रीले गत वर्ष सुदूरपश्चिममा २० हजार २०९ टन युरिया र डीएपी बिक्री गरेको थियो । त्यतिले मात्रै नपुग्ने भएकाले ३० हजार टनसम्म आवश्यक पर्ने उनले बताए । गहुँका लागि ६ हजार टन डीएपी र ५ हजार टन युरिया आउने बोगटीले जानकारी दिए । धनगढीस्थित साल्ट ट्रेडिङको प्रादेशिक गोदाममा पनि एसएसपीबोहक अन्य मल छैन । तत्काल आउने सम्भावना पनि छैन । युरिया र डीएपी तिहारपछि मात्रै आउने प्रादेशिक कार्यालयका प्रमुख केशव पाण्डेयले बताए ।