बीरगंज । नेपाल प्रहरीका २ नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रञ्जीतकारले आफूविरुद्ध समाचार लेखाएको भन्दै पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं २ मानिकपुरका उदासकुमार पाण्डेको घर खानतलासी गर्न लगाएको पाइएको छ ।
डीआईजीको नाम जोड्दै एक महिलाले पैसा उठाउने गरेको समाचार प्रकाशित भएपछि रञ्जीतकारको ठाडो आदेशमा २ नम्बर प्रदेशबाट खटिएको विशेष टोलीले पाण्डेको घर चारैतिरबाट घेरा हालेको थियो ।
५ असोजमा समाचार प्रकाशनमा ‘घुमुवाले मात्र होइन, महिलाले पनि उठाउँछिन् डीआईजीको पैसा’ शीर्षकमा समाचार प्रकाशित भएपछि रञ्जीतकारले उदासलाई पक्रने नियतले घर घेर्न लगाएको पाइएको हो ।
समाचार आएको भोलिपल्ट अर्थात् असोज ६ गते राती ११:३० बजे प्रदेश प्रहरीको टोलीसहित इलाका प्रहरी कार्यालय पर्टवा सुगौलीको टोलीले पाण्डेको घर घेरेको थियो । जबकी उक्त क्षेत्र इलाका प्रहरी कार्यालय पोखरीया मातहत पर्छ ।
‘घरमा अवैध सामान छ भन्दै प्रहरीले चारैतिरबाट पाण्डेको घर घेरेको थियो’, एक स्थानीय भन्छन् । घरको ढोका खोल्न भन्दै एक सिपाहीले अवैध सामानहरु रहेकाले आफूहरु तलासी लिन आएको भनेको सुनिएको ती स्थानीय बताउँछन् ।
पाण्डेको घरमा प्रहरी आएपछि स्थानीयहरु समेत भेला भएका थिए । परिवार र स्थानीयको दबाबपछि प्रहरी घर खानतलासी नगरी गाउँनै घेरा हाली बसेको स्थानीय कमलेश यादवले बताए । उनले भने, ‘प्रहरी त्यो दिन अर्थात राती उदासको घर त पसेन, तर ३/४ दिनसम्म प्रहरीले गाउँनै घेरा हालेर बस्यो ।’
बिना कुनै पूर्जी खानतलासीका लागि घर आएपछि उल्टो आफूहरुले प्रहरीलाई खानतलासी पूर्जी मागेको उदासका दाई विकास पाण्डेले बताए । प्रहरीले उक्त पूर्जी नभएको बताएपछि आफूहरुले घरमा खानतलासीका लागि ढोका नखोलेको पनि पाण्डेले बताए ।
जबकि कुनै व्यक्तिको घर प्रहरीले तलासी गर्दैछ भने साथमा स्थानीय जनप्रतिनिधि र वारेन्ट पूर्जी अनिवार्य रुपमा देखाउनुपर्ने छ । जुन वारेन्ट पूर्जी अदालतले मात्र जारी गर्दछ । तर, प्रहरी विना जनप्रतिनिधि र बिना वारेन्ट पूर्जीसहित पाण्डेको घर पुगेको थियो ।
उनले भने, ‘त्यतिबेला घर वरपर ३०/४० जना प्रहरी परिचालित अवस्थामा थिए, जतिबेला उदास भने घर नजिकैको भेलाहा टोलमा नाच हेर्न गएका थिए ।’ घरमा प्रहरी आएको थाहा पाएपछि उदास नाचस्थलबाटै फरार भए ।
उदासको खोजीकै क्रममा प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत बिहारको हरैयाँ र बलथरस्थित आफन्तको घरमा समेत छापा मारेको परिवारले जनाएको छ । हालसम्म उदास कता छन् परिवारलाई समेत थाहा छैन ।
घरमा प्रहरी आएपछि फरार भएका उदासका परिवारका अन्य सदस्यलाई समेत प्रहरीले निगरानीमा राखेपछि केही सदस्य लुकीछिपिबस्नु परेको उदासका दाईले गुनासो गरे । ‘एकातिर भाई हराइरहेको र अर्कोतिर प्रहरीको निगरानीमा रहेकाले झनै हामी मानसिक पीडामा रहन बाध्य भयौं,’ उदासका दाईले भने ।
के थियो घटना?
रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै सर्लाहीकी सुशीला थापा दाहालले पैसा बार्गेनिङ गरेको अडियो प्रकाशित गरेको थियो।
अडिओेमा दाहालले उदासकुमार पाण्डेसँग ६ लाख रुपैयाँ बार्गेनिङ गरेको सुन्न सकिन्छ । अडिओमा दाहालले पाण्डेसँग पैसाको बार्गेनिङ गर्दा सोचेको भन्दा बढी डिमाण्ड भएको बताएकी छिन्।
मिडियामा समाचार आएपछि ती महिलालाई प्रहरीले ७ असोजमा पक्राउ गरेको थियो । तर, ती महिलालाई ९ दिन हिरासतमा राखेर प्रहरीले छाडिसकेको छ ।
महिलासँग आफ्नो नाम जोडेर समाचार बाहिर ल्याएको आरोप उदासलाई लगाउँदै डीआईजी रन्जीतकारले जसरी पनि पक्राउ गर्नुपर्ने भन्दै आफ्नो विशेष टोली समेत भारत पठाएको स्रोतले बतायो ।
यस विषयमा डीआईजी रन्जितकारसँग बुझ्न खोज्दा आफूलाई केही थाहा नभएको र यस विषयमा बुझ्नलाई सम्बन्धित ठाउँमा फोन गर्न सुझाए। तर, उनले सम्बन्धित ठाउँ भने खुलाएनन् ।
खासमा आफ्नो नाम महिलासँग जोडेर आएपछि डीआईजी रन्जितकार ती महिलाविरुद्ध ‘एक्सन’ मा जानुपर्ने थियो। तर, ती महिलालाई केही नगरी उल्टो छाडेपछि रन्जीतकारको मिलेमतो रहेको प्रष्ट छ।
तपाईंको नाममा पैसा उठाउने सुशीला दाहाललाई छाडेको हो भन्दा डीआईजी रन्जितकारले केही उत्तर नै दिँदैनन्। मात्र भन्छन् आफूलाई केही थाहा नै छैन । न्युज अनलाइन७