वीरगन्ज । दुई वर्षअघि एसिड आक्रमणमा परेकी बीरगन्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो । वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।