वीरगन्ज | यो वर्षको हिउँदमा नेपालका विभिन्न हिमाल आरोहण दलका ५१० आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्। पर्यटन विभागको तथ्यांकअनुसार ६४ आरोहण दलबाट २३ वटा हिमाल आरोहणका लागि ४१८ पुरुष र ९२ जना महिलाले अनुमति लिएका छन्। अनुमति लिनेमध्ये सबैभन्दा धेरै मनास्लु हिमालका लागि १९३ जना छन्। त्यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि १०७ जनाले अनुमति लिएको विभागको भनाइ छ। हिमलुङ हिमाल आरोहणका लागि ४९, धौलागिरी आरोहणका लागि ४० जनाले अनुमति लिएको विभागको तथ्यांक छ।
यस वर्ष चाङ्दी र अमोतसाङ हिमालका लागि एक/एक जना र थापापिक र तेङकाङपोजे हिमाल आरोहणका लागि दुई/दुई जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमतिबाट यो वर्ष ३ करोड ५० लाख ६ हजार १४७ रुपैयाँ राजस्व संकलन भएको छ। कोरोना महामारीकै बीच गत बैशाखमा ४३ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए।
गत वर्षाको मौसममा ८५ वटा आरोहणदलबाट ७१६ जना आरोहीले १६ वटा हिमाल आरोहणका लागि अनुमति लिएको विभागको तथ्यांक छ। पर्यटन विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पदयात्रामा आउने पर्यटकको संख्या दुई वर्षदेखि शून्य भए पनि पर्वतारोहणमा आउने पर्यटकको संख्यामा भने कमी आएको छैन।