विरगंज |’सुनिस् तैले? सुस्मिता त डिप्रेसनको औषधी सेवन गर्छे रे नि! मैले पनि हिजो मात्र थाहा पाएकी। उसलाई त्यस्तो भयानक रोग लागेको छ भन्ने हल्ला कतै नफैलियोस् भनेर परिवारमा सबै चुपचाप छन् रे। हैन त्यसलाई त कुनै कुराको पनि कमि थिएन। बुवा आमाकी एक्ली छोरी, पुलपुलिएर हुर्किएकी, उसले गरेका मागहरु मुखबाट नफुत्किँदै पूरा गरिदिन्थे बुवाले, पढाइमा पनि अब्बल थिई। गुरुबा, गुरुआमा, साथीभाइ सबैले औधी मनपराउथे। यत्तिको सुख भोग गर्न पाएको भए म त हातखुट्टा फालेर नाँच्दै हिँड्ने थिएँ। कठै! कस्तो दशा आइपरेछ ।’त्यही भन्या, मलाई त साह्रै माया लागेर आयो विचरीको। त्यसलाई पक्कै कुनै कुराको नराम्रो असर पर्यो होला। फेरि यो रोग त साह्रै डरलाग्दो हुन्छ भन्छन्। यो रोग लागेकाहरुले त आफैँलाई हानी हुने काम गर्छन् रे। सही, गलत केही छुट्याउन सक्दैनन् रे उनीहरु। ओहो! म त अब झुक्किएर पनि त्यसको घर जान्न। यस्ता मानसिक रोगीहरुले त आफ्नो जीवनसँगै अरुको जीवन पनि बर्बाद पारिदिन्छन्। मलाई त लाग्छ, यो सबै अनावश्यक तनाव लिने मानिसहरुलाई मात्र हुन्छ। आमाले पनि भन्ने गर्नुहुन्छ, ‘आजकलका युवायुवतीले नचाहिँदो कुराहरु सोच्ने, बिना कारण आफ्ना विचारहरुमा विचलन निम्त्याउने हुँदा यस्तो रोग लाग्छ रे।’हाम्रो समाजमा यदि कोही व्यक्ति डिप्रेसन, ऐन्जाइटी, स्ट्रेस जस्ता मानसिक समस्याहरुसँग जुधिरहेको छ भने, उसका विषयमा गरिने चियोचर्चा र टीका-टिप्पणी सामान्यतय यस्तै हुने गर्छन्। मानसिक समस्या र यससँग लड्दै गरेका व्यक्तिहरुलाई लगाइने आरोप र लान्छना अनेक छन्। जनचेतनाको अभाव र मनोसामाजिक चेतनाको कमीका कारण अधिकांशले यस्ता समस्याहरुलाई ‘पागलपन’ को संज्ञा समेत दिने गर्छन्।
कुल युवा जनसंख्याको २० प्रतिशत युवाहरुमा मानसिक अस्वस्थाको समस्या देखिने गरेको छ, अर्थात् प्रत्येक ५ युवाहरुमध्ये एक जनालाई मनोचिकित्सकको आवश्यकता पर्ने देखिन्छ। माया, ममता र चिकित्सकको परामर्श आवश्यक पर्नेहरुलाई हामी जानी नजानी खिसिट्युरीको पात्र बनाइदिन्छौँ। समाजमा स-सम्मानका साथ बसेका शिक्षित र प्रतिष्ठित भनौदाहरुले समेत मानसिक समस्यासँग गुज्रिरहेका मानिसहरुप्रति दिने टिप्पणी लाजमर्दो हुन्छ। समस्यामा परेकाहरुलाई ‘रोगी’को ट्याग झुन्ड्याइदिएर हिँड्नेहरु आफैँलाई ‘सुपेरियोरिटी कम्प्लेक्स’ नामक किराले भित्रभित्रै खाएर खोक्रो बनाइदिएको पत्तै पाउँदैनन्। उनीहरुले गर्ने व्यवहार र बोल्ने कुरा पनि यस्तै खोक्रो हुन्छ। १४ देखि २८ वर्षको उमेर समूह जीवनकै सबैभन्दा महत्वपूर्ण समय हो। टिनएजमा प्रवेश गरेसँगै परिवार, करियर र भविष्यको बाटो पहिल्याउन लागि पर्ने यो उमेर समूह धेरै ‘सेन्सिटिभ’ हुने विशेषज्ञहरुले बताउँदै आएका छन्। यस्तो बेला भावनात्मक परिवर्तनहरु आउनु कुनै नौलो विषय पक्कै होइन। मानसिक समस्याबाट ग्रसित कसैको भद्दा मजाक उडाउनुभन्दा अगाडि एकपटक सबैजनाले मनन गरिहेरौँ न। कतै उनीहरुको बदलिँदो व्यवहार र अनौठा विचारहरुका कारक हामीमध्ये कोही एक पो हौँ कि! अस्ती भर्खरै मात्र कलेजमा तपाईंले छेवैमा बसेकी साथीको नामाकरण गरिदिनुभयो, ‘मोटी’ भनेर। आजसम्म त कक्षामा सबैले उसको नाम निशा हो भनेर बिर्सिसकेका छन्। तपाईंले जे भने पनि उनी फिस्स हाँसिदिन्छिन्। यसले तपाईंलाई अझ उत्साह दिएको हुँदो हो। तर तपाईंका तुच्छ वचन उनका कानमा रातभरि गुन्जिरहन्छन्। ती वचनले दिएको पीडा सायद आँखाबाट बगिरहन्छन्। तर भोलिपल्ट हँसिलो मुख लिएर उनी फेरि लुसुक्क तपाईंकै छेउमा आएर बस्छिन्। माइजूले दसैँमा टीका लगाइदिँदै गर्दा भन्नुभयो, ‘भान्जी त धेरै दुब्लाउनु भएछ नि। घरमा मामु-बाबाले केही खान दिनुहुन्न क्या हो? हेर, कति साना हातखुट्टा। हाम्री लुती भान्जी।’ सबैजना गलल हाँस्नुहुन्छ! आजदेखि भान्जी भान्जी मात्र रहिनन्, लुती भान्जी भइन्। सुन्दा, देख्दा यी समस्याहरु सामान्य लाग्न सक्छन्। कसैको शारीरिक बनोट, छालाको रंग र सौन्दर्यताका बारे गरिने यस्ता टिप्पणीहरु अधिकांशले मजाक र रमाइलोका रुपमा लिन्छन्। तर गर्नेलाई रमाइलो भएता पनि सुन्नेलाई यस्ता मजाक निकै भद्दा र रुष्ट लाग्छन्। अचानोको चोट खुकुरीले कहिल्यै नबुझे जस्तै सायद पीडामा परेकाहरुको मर्म चेतनाहीन मानिसहरुले कहिल्यै बुझ्दैनन्। यसलाई सरल भाषामा हामी बडी सेमीङ भन्छौँ।
सामाजिक संजालको बढ्दो प्रयोगले गर्दा पनि धेरै किशोर अवस्थाका युवा-युवतीहरु बडी सेमीङको शिकार बन्न पुगेका छन्। सामाजिक संजालमा कसैलाई शारीरिक बनोट, आवरण र भेषभुषाको आधारमा हियाउने र तुच्छ टिप्पणी दिने प्रक्रियाले सधैँ नकारात्मकता फैलाउने गरेको हामीले देखिरहेका छौँ। यससँगै, बुलिङ र र्यागिङ (विद्यालयमा र कलेजमा सिनियरले जुनियरमाथि गरिने दुर्व्यवहार), यौनजन्य हिंसा, लैंगिक विभेद तथा जातीय विभेद जस्ता समस्याले पार्ने प्रभाव पनि निकै गहिरो हुने गर्छ। बौलाहा, मनलागी गर्ने, मगज बिग्रिएको र दिमाग खुस्किएको। हामीले निर्माण गरेको शब्दकोषमा मानसिक समस्यासँग जुधिरहेका व्यक्तिहरुलाई परिभाषित गर्ने शब्दावलीहरु यस्तै होलान्। तर बुझ्नुपर्ने कुरा यो हो कि मानसिक रोगको आयाम र परिभाषा धेरै फराकिलो छ। मानसिक स्वास्थ्यमा आउने समस्या केवल पूर्ण रुपमा मानसिक सन्तुलन गुमाउनु मात्र हैन। डिप्रेसन, एन्जाइटी न्युरोसिस अव्सेसीव कम्पलसीभ डिसअर्डर, मद्यपानको लत, पर्सनालिटी डिसअर्डर, लागुपदार्थ दुर्व्यसन र चाइल्डहुड ट्रमा जस्ता समस्याहरु पनि मानसिक अस्वस्थता भित्रै पर्दछन्। विशेष गरेर, विद्यालय तथा कलेजमा अध्ययन गर्ने किशोर-किशोरीहरुलाई भावनात्मक समस्याहरु (इमोशनल प्रबलम्स) बढी मात्रामा हुने हुँदा उनीहरुको समस्यालाई सुनिदिने र बुझिदिने जनशक्तिको अभावसँग हाम्रो समाज जुधिरहेको छ। डिप्रेसन र एन्जाइटी जस्ता समस्याहरु लिएर काउन्सिलरसम्म पुग्ने बाटोमा आइलाग्ने अवरोधहरु नै अनेकौँ हुने भएकाले मानिसहरु अक्सर मनोचिकित्सक वा साइकोलोजिस्टकहाँ जान रुचाउँदैनन्। जीवनमा घटेका साना-साना कुराले पनि हाम्रो मानसिक स्वास्थ्यमा निकै ठूलो प्रभाव पार्छन्। तपाईंको टेबलमा रहेको पेन्डिङ कामले होस् या दिन रात अफिसको दौडधुपले, परीक्षाको नतिजाले होस् या कसैले बेहोसीमै बोलिदिएको एउटा रुखो वचनले, तपाईंलाई कुनै पनि दिन, कुनै पनि समय मेन्टल स्ट्रेस दिन सक्छ। युवाहरुको मृत्युको केही कारणमध्ये एक आत्महत्या हो र आत्महत्याको प्रमुख कारक मध्ये एक हो, मानसिक समस्या।