वीरगंज | रेबिज सत्य हो, भोग्नु बाध्यता हो, डर होइन भन्दै रेबिज दिवस २०२१ मनाइरहँदा आव २०७६÷७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुगेको तथ्यांकले झस्काउँछ । काठमाडौंमा २२ हजार भुस्याहा र झन्डै ५० हजार घरपालुवा कुकुर छन् । देशभर २० लाख कुकुर रहेको अनुमान छ । ७० प्रतिशतलाई ३ देखि ५ वर्ष खोप लगाए २०३० सम्म रेबिज रोग नियन्त्रण गर्न सकिन्छ । तर, खोप उत्पादन १ लाखलाई पुग्ने मात्र छ ।
रोग के हो ? : रेबिज पुराना रोगमध्यको एक पशुबाट मानिसमा सर्ने जुनोटिक रोग हो । लासा भाइरस टाइप वन विषाणुद्वारा संक्रमण हुने यस रोगले मुख्य रूपमा केन्द्रीय स्नायु प्रणाली दिमाग र -यालग्रन्थीमा असर पारी पानीदेखि डराउने अवस्था उत्पन्न हुने गर्छ । रेबिज रोगको विषाणु शरीरभित्र प्रवेश गरेपछि रेबिज रोगको लक्षण देखापर्ने अवधि ६ दिनदेखि बढीमा ६ वर्षसम्म हुन सक्ने भए पनि रोगको लक्षण तथा चिह्न देखिइसकेपछि २–३ दिन र बढीमा ६ दिनसम्ममा रोगीको मृत्यु अवश्यसम्भावी हुने गर्छ । समयमा सतर्कता अपनाएमा, बहुला जनावरले टोकेको अवस्थामा खोप लिएको खण्डबाट शतप्रतिशत बचावट हुन सक्छ ।
प्रकोपता : विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रतिवर्ष २० लाखभन्दा बढी मानिसले रेविजविरुद्धको खोप लगाउँछन् संसारभर । ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट लाग्ने गरेको विश्व पशु स्वास्थ्य संगठन बताउँछ । वार्षिक ३७ लाख बढी प्रभावित, हरेक ९ मिनेटमा १ जनाको ज्यान जाने, प्रत्येक वर्ष ६० हजारको मृत्यु र १० मृतकमध्ये ४ बालबालिका हुने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनमा छ भने नेपालमा वार्षिक सय बढीको मृत्यृ छ । नेपालमा रेबिजको जोखिम तराईका २० जिल्लामा उच्च र पहाडका १६ जिल्लामा मध्यम छ । कुकुरबाटै कुकुरमा पनि सर्ने गर्छ ।
प्राणघातक रोग रेबिज मासु खाने जीवजन्तु कुकुर, स्याल, फ्याउरो, बिरालो, ब्वाँसो आदिको टोकाइबाट मानिसलगायत तातो रगत भएका प्राणीमा सर्ने गर्छ
विगतको सर्वेक्षण हेर्दा नेपालमा ९४ प्रतिशत बहुला कुकुरको टोकाइ, ४ प्रतिशत जंगली जनावर स्याल, फ्याउरो, ब्वाँसो आदि र २ प्रतिशत पाल्तु जनावरको टोकाइबाट बचावट गर्न रेबिजविरुद्धको खोप लिएको देखिन्छ मानिसले । त्यसैगरी, रेबिज रोगबाट भएको मृत्युमा ९६ प्रतिशत बहुला कुकुरको टोकाइबाट नै भएको पाइन्छ ।
रोग सर्ने तरिका ः प्राणघातक रोग रेबिज तातो रगत भएको जुनसुकै प्राणीलाई लाग्न सक्ने रोग हो र मासु खाने जीवजन्तु विशेषगरी कुकुर, स्याल, फ्याउरो, बिरालो, ब्वाँसोको टोकाइबाट सर्ने गर्छ । यस रोगको मुख्य स्रोत जंगली जनावर हुन् । केहीले त बाहकको काम मात्र पनि गर्छन् । जंगलीद्वारा घरपालुवामा तब मानिसमा सर्ने गर्छ रेबिज । प्रत्यक्ष– रेबिज रोग लागेको वा बहुलाएको जनावरले टोकेमा वा उसको ¥याल हाम्रो घाउ, चोटपटक लागेको ठाउँमा पर्न गएमा र अप्रत्यक्ष– रेबिज रोगीको आँखादान स्वस्थ व्यक्तिमा हाल्दा पनि सर्न सक्छ । जनावरको टोकाइबाट, चटाइबाट, श्वासप्रश्वास र व्यक्ति व्यक्तिको सम्पर्कबाट यो रोग सर्छ ।
कुकुरले टोकेमा घरमा उपचार : साबुन पानीले १० मिनेटसम्म मज्जाले घाउ धुने र त्यसपछि स्प्रिट वा अल्कोहल वा टिन्चर आयोडिन लगाउनपर्छ । सहन सक्ने तातोपानीले घाउ सफा गर्दा राम्रो हुन्छ । यसो गर्दा विषाणुको वृद्धि, विकास नहुने र मर्ने हुन्छ । टोकेको कुकुर पत्ता लगाउने, घरपालुवा कुकुर भए एन्टिरेबिज खोप दिए नदिएको र कुकुरलाई १० दिनसम्म बाँधी रेबिज भए नभएको पत्ता लगाउनुपर्छ ।
अस्पतालमा उपचार : टोकेको घाउ राम्रोसँग प्रत्येक दिन सफा गर्ने, घाउमा तेल हाल्ने, खुर्सानी हाल्ने, डाम्ने नगर्ने, लामो र ठूलो भए खुकुलो टाँका लगाउने, अन्यथा टाँका नलगाउने, टिटानस टक्साइडको सुई लगाउने, नदुख्ने र नपोल्ने सुई लगाउने तथा खोप डाक्टरको सल्लाहअनुसार लगाउनुपर्छ । यदि कुकुर म-यो भने उसको गिदी जाँच्न पठाउने, कुकुरलाई गाड्ने तथा बिरामीलाई सुई दिन सुरु गर्नुपर्छ । प्राथमिक उपचार मात्रै पनि सकेसम्म छिटो गर्न सकेमा रेबिज रोग लागेको जनावरले टोक्दा पनि रोग सर्ने सम्भावनामा ९० प्रतिशतसम्म कमी आउँछ ।
रेबिज लागिसकेपछि उपचार नभएर मृत्यु नै अवश्यसम्भावी भएकाले रोकथामका उपाय र टोकिहालेपछि प्राथमिक उपचार गर्न उत्प्रेरित गरिनुपर्छ
लक्षणहरू : सामान्यतया रेबिज रोगको स्रोत र संवाहक बहुला जनावर नै मानिन्छ । यस्ता जनावरको -यालमा भएको विषाणु सो जनावरको टोकाइ वा अन्य माध्यमबाट मानिसको विभिन्न स्नायु, नसा र सुषुम्ना हुँदै मस्तिष्क वा केन्द्रीय स्नायु प्रणालीका स्नायु नसाहरूबाट सोझै मस्तिष्कमा पुगी वृद्धि विकास भएपछि रोगका लक्षण देखा पर्छन् ।
-यालमा रहेको रेबिज विषाणुको प्रवेशपछि नजिकैको नसामा आक्रमण गर्छ तर रगतमा होइन । त्यसपछि ३ मिलिमिटर प्रतिघण्टाको दरले मष्तिष्कमा पुग्दछ र केन्द्रीय स्नायु प्रणालीलाई प्रभाव पार्छ । मष्तिष्कको खैरो पदार्थमा जम्मा भई तीव्र वृद्धि हुने गर्छ विषाणुको । त्यसपछि शरीरको विभिन्न नसामा केही महत्वपूर्ण मांशपेशीमा र अंगमा आक्रमण गर्छ ।
रेबिज रोग तीव्र र लाटो रूप गरी दुई किसिमका हुन्छन् । प्रोड्रोमल अवस्थाको, रोग लाग्नुभन्दा अगाडि देखिने लक्षणहरूमा टाउको दुख्नु, निद्रा नलाग्नु, ज्वरो आउनु, थकाइ लाग्नु, भोक नलाग्नु, शरीरको मांशपेशी र घाँटी दुख्नु, छिनछिनमा थुक्न मन लाग्नु, ८० प्रतिशतमा टोकेको घाउ वरिपरि सियोले रोपेजस्तो अनुभव हुनु, दुख्ने र झमझमाउने आदि पर्दछन् ।
यस्ता लक्षण ३ देखि १० दिनसम्म रहन्छन् । यस्तो लक्षण देखिएको २४ घण्टामा रोगका लक्षण छालामा छोएको थाहा नहुने, मांशपेशीको कार्यमा अवरोध, श्वासप्रश्वास क्रिया अनियमित, अस्वभाविक र अन्त्यमा दिमागका काममा विस्तारै कम हुन्छ । रोगले ग्रसित पार्दै लैजाँदा तरल पदार्थ पनि पिउन नसक्ने, आवाज सुन्दा अत्तालिने, उज्यालोमा हेर्न नसक्ने, आँखामा डेडोपना, एउटै वस्तु दुईवटा देख्ने, मन नपर्ने, हल्ला मन नपर्ने, जाडो सहन नसकी सिरसिर हावामा पनि झर्को र डर मान्ने र पानीदेखि डराउने हुन्छ ।
कहिलेकाहीँ रोगी बढी उत्तेजित भएर वरपरका सामान फ्याँक्ने, टोक्ने र जता मन लाग्यो उतै लड्ने गर्छ । आँखाबाट आँसु झरिरहने, धेरै पसिना आउने, ¥याल धेरै झार्ने र मुखभित्र धेरै र बाक्लो -याल जम्मा भई फिँज बाहिर निस्कन्छ । यति हुँदाहुँदै बिरामीलाई दिक्क लाग्छ, सोचग्रस्त हुन्छ र मर्छु कि भन्ने त्रास हुन्छ । झोल कुरा निल्न सक्दैन ।
पानीको आवाज सुन्नेबित्तिकै र कम्पनबाट डराउँछ जसलाई हाइड्रोफोबिया भनिन्छ । हाइड्रोफोबिया पानीसँग डराउने अवस्था भइसकेपछि कोही पक्षाघात भई कोही त्यसै मर्छन् । नेपालमा रेबिज रोगको लक्षण देखापरेको दुईदेखि आठ दिनसम्ममा रोगीको मृत्यु भएको पाइन्छ ।
रोकथाम : रेबिज सयमा सय प्रतिशत बचावट गर्न सकिने तर रोग लागिसकेपछि वा लक्षण देखिइसकेपछि सयमा सय प्रतिशत उपचार नहुने रोग भएकाले यो रोगप्रति समयमै सतर्कता अपनाउनु नै मृत्युबाट जोगिनु हो । कुकुरलगायत सम्पूर्ण पाल्तु जनावरलाई खोप लगाउने, लाइसेन्स दिने, पञ्जीकरण गर्ने, भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने, रोगका स्रोतहरू तथा बाहक जंगली जनावरलाई निगरानी गर्ने, आयातीत जनावरलाई नियन्त्रण र क्वारेन्टाइन जाँच गर्ने गर्नुपर्छ ।
त्यस्तै, जोखिम समूहका जनावर, मानिसलाई भ्याक्सिन लगाउने, गाउँघरमा मरेका जनावरलाई जथाभावी नफाली माटोमुनी गाड्ने, टोकेको घाउको निसंक्रामकयुक्त पानीले सफा गर्ने, साबुन पानीले सफा गरी अल्कोहल, टिन्चर आयोडिन वा स्प्रिट लगाउने र रोगप्रति जनचेतना अभिवृद्धि गर्नुपर्छ ।
अन्तमा, रेबिज रोग लागिसकेपछि खोप लगाउनुको कुनै अर्थ नरहने भएकाले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गरी रोग लाग्नै नदिन मानिसलाई मात्र नभएर जनावरलाई पनि खोप दिने गरिन्छ । रेबिजको रोकथामका लागि स्थानीय, प्रदेश र संघीय सरकारले योजना बनाएर कुकुर नियन्त्रण गर्नुपर्छ । जति नियन्त्रण त्यत्ति नै टोकाइ घट्छ । रेबिज लागिसकेपछि उपचार नभएर मृत्यु नै अवश्यसम्भावी भएकाले रोकथामका उपाय र टोकिहालेपछि प्राथमिक उपचार गर्न उत्प्रेरित गरिनुपर्छ ।