वीरगन्ज । मुलुकमा यतिबेला चाडपर्वको रौनक बढेको छ । लगातार दुई वर्ष मन खोलेर चाडबाड मनाउन नपाएका नेपालीहरू यतिबेला आउँदै गरेको चाडपर्वको तयारी गर्दै छन् । एकातिर यो साता पछिल्ला दिनमा कोरोना संक्रमणको संख्या पनि बढ्दै छ भने अर्कातिर बजारमा चाडपर्वको किनमेलका लागि भीड पनि बढ्दै छ ।
यसैबीच चाडपर्वको मौका छोपेर बजारमा विभिन्न नामका योजना ल्याउने क्रम पनि बढ्दो छ । विभिन्न कम्पनीहरू चाडपर्वको उपयोग गरेर आफ्ना वस्तुको बिक्री बढाउने गर्छन्, जुन स्वाभाविक पनि हो । तर, चाडपर्व योजनाका नाममा कमसल तथा म्याद गएका वस्तु बिक्री गर्ने तथा चिट्ठालगायत अन्य माध्यमबाट उपभोक्तालाई आकर्षण गरी ठगी गर्ने कार्य पनि बढ्दो छ । व्यवसायीका नाममा यस्ता मौसमी व्यवसायीहरू यतिबेला बजारमा उपभोक्ता ठग्न विभिन्न योजानाको नाममा तयार भएर बसेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको काम यस्ता मौसमी व्यवसायीबाट उपभोक्तालाई ठगिनबाट जोगाउनु हो ।
त्यसैले विभागको टोलीले अनुगमन गर्ने पनि गर्छ । तर, चाडबाडका क्रममा विभिन्न आकर्षक योजना ल्याउने यस्ता मौसमी व्यवसायीलाई पहिचान गरी उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने विभाग बेलाबेलामा आफैं पनि ठगिएको छ । त्यसबाहेक विभागले बजार अनुगमन गर्ने काम तदारुकताका साथ गर्न नसकेको गुनासो धेरै पुरानो हो । अझ विभागका केही कर्मचारीले बजार अनुगमनका नाममा चाडबाडका लागि आफ्ना आवश्यक वस्तु तथा नगद पनि लिने गरेको पनि आरोप छ । तसर्थ, विभागकै पनि अनुगमन गर्नुपर्ने समय आइसकेको देखिन्छ ।
हरेक वर्षझैं विभागले यसपटक पनि बजार अनुगमन गर्ने र विभिन्न योजनाका नाममा उपभोक्ता ठगेको भेटिए कारबाही गर्ने बताएको छ ।
तर, विभागको मौसमी बजार अनुगमन तथा कारबाहीका कारण उपभोक्तामा कुनै विश्वास भने छैन । विभागले उपभोक्ता ठगिएपछि आएर गर्ने उजुरी कुर्ने होइन, आफैं सक्रियतापूर्वक उपभोक्तालाई ठगिन दिनु भएन । त्यसका लागि यदि विभागमा जनशक्ति, प्राविधिक अथवा अन्य समस्या छ भने विभागले आफ्नो तालुकवाला मन्त्रालयमार्फत समाधान गर्नुपर्छ ।
तर, मौसमी बजार अनुगमनको काम छोडेर बाह«ै महिना बजार अनुगमन गर्नुपर्छ । चाडपर्वको बेला मौसमी व्यापारीले विभिन्न उपहार तथा चिट्ठाको नाममा ठग्न सक्ने भएकाले उपभोक्ता पनि सचेत हुनु आवश्यक छ । धेरै छुट पाइने तथा सस्तो पाइने लोभमा उपभोक्ता पनि यस्ता योजनामा फस्छन् र कमसल तथा कम गुणस्तरका म्याद सकिन लागेका सामानको फेला पर्छन् ।
त्यसैले उपभोक्ता सचेतना पनि एउटा महŒवपूर्ण पाटो हो । विभागले चाडबाडका अवसरमा उपभोक्ता ठगिन सक्ने विभिन्न यस्ता योजनाका बारेमा अगाडि नै उपभोक्तालाइ सुसुचित पनि गर्नुपर्छ । चाडपर्व तथा भीडको बहानामा बजारमा कस्ता प्रकारका ठगी हुन सक्छन् भन्ने यसअघिका अनुभवका आधारमा विभागले उपभोक्ता सचेतना कार्यक्रम गर्नुपर्छ ।
किनकि चाडपर्वको बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कमसल सामान बिक्री, म्याद नाघेका सामान वितरण, तौलमा कमी, रिलेबलिङको समस्याजस्ता समस्या हरेक वर्षझैं दोहोरिइरहेका हुन्छन् । त्यसैले वाणिज्य विभागमात्र नभएर चाडपर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, स्वास्थ्य सेवा विभाग, कृषि विभागसँगै उपभोक्ता अधिकारकर्मीहरूका साथै उपभोक्ता आफैं पनि सजग हुनुपर्छ ।
किनकि बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त नरहेको बहानामा समेत ठगी हुन्छ । एकातिर सरकारी अधिकारीहरू बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त भएकाले अभाव नहुने दाबी गरिरहेका छन् भने अर्कातिर चाडपर्वमा बढी खपत हुने चिनीजस्ता दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालिसकेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग आफैं पनि बजारमा वस्तुको गुणस्तर र नापतौलमा धेरै नै समस्या रहेको जानकार छ । त्यसैले बजारमा उपभोक्ता सचेतनाका साथसाथै कानुनी कारबाहीमा सरकारले कडाइ गरे बजारमा कृत्रिम अभाव देखाएर तथा विभिन्न योजना अगाडि सारेर ठगी गर्नेहरू पनि सतर्क हुने थिए ।