वीरगञ्ज । कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर २ ले वास्तविक किसालाई पाखा लगाएर आफ्ना कार्यकर्तालाई ट्याक्टर वितरण गरेको छ । किसानहरुको उत्थान गर्ने अभिप्रायले ल्याइएको योजनाले किसानको भन्दा पनि कार्यकर्ताको उत्थान भएको वास्तविक कृषकहरुले दुखेसो पोखेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताहरुले ट्याक्टर पाएको आरटीआई सूचनामा उल्लेख छ । आ.व. २०७५/७६ मा ५० प्रतिशत अनुदानमा मन्त्रालयले ट्याक्टर वितरण गरेको थियो । जसअन्र्तगत कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो जिल्ला सप्तरीमा २० वटा ट्याक्टर आफ्ना आसेपासेलाई वितरण गरेका थिए भने राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो जिल्ला रौतहटमा १८ वटा ट्याक्टर वितरण गरेका थिए । प्रदेश २ का अन्य जिल्लामा भने १० वटाको दरले वितरण गरिएको छ ।
धनुषामा ट्याक्टर पाउने रामचन्द्र यादव जसपा नेपाल कमला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार यादवका बुबा हुन् । उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदार समेत हुन् । ज्ञानुकुमार यादव हाल जसपा र तत्कालीन समाजवादी पार्टीबाट धनुषाधाम नगरपालिकाको नगर प्रमुखका प्रत्यासी थिए । त्यस्तै रामचन्द्र यादवको सिफारिस तत्कालीन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए । किसान बहुउद्देश्यी कृषक समूह वैद्यनाथ रायको रहेको छ, उनी जसपाको सबैला नगर अध्यक्ष हुन् । ट्याक्टर वितरमा मात्रै हैन प्रदेश २ सरकारका हरेक योजना तथा कार्यक्रमहरु कार्यकर्ता पोस्ने योजना मात्रै बनेका छन् । साइकल वितरणदेखि लिएर ट्याक्टर वितरण, पम्प वितरण सम्म सबै योजनाबाट मन्त्री तथा नेताका नातेदारहरु मात्रै लाभान्वित हुने गरेका छन् ।
यति मात्रै नभएर अनुदानको सामानहरु लिएर बिक्री गर्ने गरेको समेत पाइएको छ । प्रत्येक वर्ष पाउने अनुदानहरुको दुरुपयोग हुँदा वास्तविक पिडितहरु समक्ष योजना, अनुदान जस्ता कार्यक्रमहरु पुग्ने गरेका छैनन् । मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मै प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको थियो । तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अघि सारिएको उक्त योजना पनि वास्तविक किसानसमक्ष नपुग्दै सकियो । सोलार पम्प पाउने अधिकांश व्यक्ति जनता समाजवादी पार्टीका कार्यकर्ता थिए । मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला सप्तरीमा सबैभन्दा बढी ४८ वटा वितरण गरिएको थियो भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको छ । रौतहटमा १४, पर्सामा २१, बारामा २३, सिराहामा २६, सर्लाहीमा ४४ र धनुषामा ४५ वटा वितरण गरिएको थियो ।