वीरगन्ज | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीबीच छलफल भएको छ । दुई देशका विदेशमन्त्रीबीच अफगानिस्तानको पछिल्लो घटनाक्रमका विषयमा चर्चा भएको थियो । ब्लिङ्कले बिहीबार न्युयोर्कमा कुरेसीसँगको छलफलका क्रममा अफगानिस्तानका विषयमा मिलेर काम गर्ने र ध्यान केन्द्रित गर्नका लागि धेरै विषयवस्तु रहेको जानकारी गराएका थिए । उनले अफगानिस्तान छाडेर जान चाहनेका लागि पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे । अमेरिकी विदेश विभागका प्रवक्ता नेट प्राइसले दुवै नेताले अफगानिस्तानको भविष्यबारे चर्चा गरेको जानकारी दिएका छन् ।
बैठकपछि कुरेसीले भने, ‘मैले एक समय अफगानिस्तानभन्दा अघि बढेर कुरा गर्नुपर्ने सोचेको थिएँ । तर अब अफगानिस्तानलाई अलग राख्न सकिदैन । हामीले आफ्ना साझा लक्ष्य प्राप्त गर्नका लागि एक साथ काम गर्ने तरिका खोज्नुपर्छ ।’ करिब १ घन्टा चलेको बैठकमा दुई नेताबीच व्यापार, लगानी, ऊर्जा, र क्षेत्रीय सम्पर्कमा आधारित सम्बन्धबारे पनि छलफल भएको थियो । अफगानिस्तानमा समावेशी राजनीतिक समाधान हुनुपर्ने पाकिस्तानको प्रतिबद्धतामा कायम रहेको उनको भनाई थियो । पाकिस्तानी समाचारपत्र डनले पाकिस्तानले लामो समयदेखि अमेरिकी नेतृत्वसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमका विषयमा अमेरिकासँग उच्चस्तरीय छलफल गर्न चाहेको उल्लेख गरेको छ ।