वीरगन्ज । दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने भएको छ ।राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।
जनता समाजवादी पार्टीले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने बताएपछि सरकारले आज बिहीबारसम्म प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको महराले जानकारी दिनुभयो ।उहाँले बिहीबार बस्ने संसद् बैठकमा उक्त प्रतिस्थापन विधेयक दर्ता हुने जानकारी दिनुभयो ।
सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।