बीबीसी । म्यानमारको एउटा सहरमा सैनिक र सैनिक कूको विरोधी लडाकुबीच भीषण युद्ध हुँदा त्यहाँका लगभग पूरै मानिसहरूले सहर छोडेका छन् । चिन राज्यको थन्टलाङमा साताभर चलेको युद्धका कारण त्यहाँका करिब ८ हजार मानिसले घर छोडेका हुन् । हजारौँ मानिसहरू नजिकैको सीमा पार गरी भारत गएको ठानिएको छ ।
विस्थापित मानिसहरूलाई सहयोग गरिरहेको एउटा संगठनका एक जना प्रवक्ताले सुरक्षा बलले घरहरूमा गोली प्रहार गर्न सुरु गरेपछि मानिसहरू भागको बताए ।
“करिब सय प्रतिशत मानिसहरू भागेका छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी नभएका सरकारी कर्मचारी र सेनाका फौजहरू मात्र सहरमा छन्,” एक बासिन्दाले भने ।लडाइको समयमा तोपहरूद्वारा थुप्रै घरहरूमा आगलागी गराइएको थियो । रोयटर्सका अनुसार करिब २० घरहरू जलेका थिए । सैनिकले एक जना क्रिश्चियत पास्टरलाई गोली हानी मारिदिएको बताइएको छ ।म्यानमारको सैनिकले गएको फेब्रअरीमा कू गरेर सत्ता कब्जा गरेपछि ठूला प्रतिरोधहरू भए ।
त्यसको विरोधमा विरोधी लडाकुको गठनसमेत भयो ।एक नागरिक समाजका प्रमुखका अनुसार गएको हप्ताभरि भारतको मिजोरम राज्यमा म्यानमारबाट साढे पाँच हजार मानिसहरू गएका छन् ।जेनरल मिन आङ लियाङ जो आफूलाई प्रधानमन्त्री पनि भन्छन्, उनले अगस्टमा संकटकाल लम्बिन सक्ने बताएका थिए ।फेबु्रअरीमा सैनिक कू भएपछि देशभर प्रर्दशनहरू फैलिएका छन् । जवाफमा सुरक्षा बलले क्रुर दमन गरिरहेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैनिक दमनमा एक हजारभन्दा बढी मारिएका छन् भने ६ हजार भन्दा बढी पक्राउ परेका छन् ।