वीरगन्ज । नेपालको संविधान २०७२ जारी भएको ६ वर्ष पुग्नै लाग्दा पुनः त्यसको प्रभावकारी कार्यान्वयनमा प्रश्न उठाउँदै संविधान संशोधनको प्रसंग उठ्न र उठाउन थालिएको छ । एकातिर सरकारले संविधान दिवसको दिन दीपावली गर्न आव्हान गरेको छ भने अर्कोतिर संविधानका कतिपय प्रावधानमा चित्त नबुझाएका समूह र राजनीतिक दलहरुले संशोधनका निम्ति निम्ति उठाइरहेका छन् ।
सोही क्रममा बृहत् नागरिक आन्दोलनले संशोधन अभियान नै चलाउने बताएको छ । आन्दोलनले जारी गरेको प्रेस विज्ञप्तिमा असोज ३ गते संविधान दिवसको दिनदेखि संविधान संशोधन मार्चमा सहभागी हुन आग्रह गरिएको छ ।
उसले भनेको छ,‘संविधान निर्माणदेखि नै जनमतको कदर नभएको,संविधानका व्यवस्था समेत जनहितमा प्रयोग नभएकाले संशोधन गर्नुपर्ने छ । संविधान निर्माणको प्रक्रियामै जनघात भएकाले जारी संविधानबाट जनता अधिकारसम्पन्न र सार्वभौम नहुने हुँदैनन् ।’
संविधानले सबै नागरिकमा बराबरको हक,अधिकार सुनिश्चित गर्न नसकेको,आमाको नाममा नागरिकता पाउने अधिकारलाई कुण्ठित गरेर आमाको कोखलाई राष्ट्रिय सुरक्षासँग जोड्ने गरी राष्ट्रवाद हुर्काएका कारण जारी संविधान जनहितमा नरहेको विज्ञप्तिमा उल्लेख छ । संविधानले दिएको आरक्षणको अधिकारको दुरुपयोग भएकोमा समेत आन्दोलनले चिन्ता व्यक्त गरेको छ ।
यीलगायत संविधानमा तमाम समस्या रहेकाले जनाधिकारको सुरक्षा गर्न संविधान संशोधनको मार्चमा सहभागी हुन उक्त समूहले असोज ३ गते २ बजे माइतीघरमा उपस्थित हुन सबैलाई आग्रह गरेको छ ।