वीरगन्ज । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषद्मा पठाएको थियो ।विभागले २० भदौदेखि जनगणनाका विभिन्न काम सुरु गर्नेगरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको काम भदौबाट नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।
कार्यतालिकाअनुसार २० भदौबाट २६ भदौसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ भदौमा सुपरभाइजरलाई तालिम दिने र ३० भदौ १८ असोजसम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।
त्यसपछि गणक भर्ना गरी १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम दिनेछन् । उनीहरूको तालिमपछि मूल गणना हुनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछाने जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले ८ असारदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण तय भएको मितिसमेत स्थगित भएको थियो ।
नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको हो । त्यसयता दोस्रोपटक तोकिएको समयमा जनगणना हुन स्थगित भएको थियो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रोपटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।