वीरगन्ज । एप्पल र गुगल प्रविधिका हिसाबले धेरै क्षेत्रमा प्रतिस्पर्धी कम्पनी हुन् । दुवैको आ-आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम छ । जसमा गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । त्यतिमात्रै नभएर स्मार्टफोनमा पनि यी दुवै कम्पनीको आ-आफ्नै प्रडक्ट छ । गुगलको पिक्सेल र एप्पलको आईफोन ।हुन त स्मार्टफोनमा यी दुई कम्पनीलाई प्रतिस्पर्धी मान्न सक्ने अवस्था छैन । किनभने स्मार्टफोन बजारमा गुगलको पिक्सेलभन्दा एप्पल कयौं गुणाले अघि छ । सँगै गुगल म्याप र एप्पल म्यापकाे कुरा गर्ने हाे भने गुगल निकै अघि छ ।
सबैभन्दा महत्वपूर्ण भनेको ‘डिफल्ट’ हो भनेजस्तै यी दुईबीचको सम्झौता पनि ‘डिफल्ट’ कै हो । एप्पलको वेब ब्राउजर सफारीमा सर्च इन्जिनको रुपमा गुगललाई डिफल्ट बनाइएको छ । जसका लागि गुगलले एप्पललाई पैसा तिर्दै आएको छ ।त्यसो भए एप्पलले पैसाकै लागि डिफल्ट सर्च इन्जिनको रुपमा गुगल राखेकाे हाे त ? यो विषय धेरैका लागि चासोको विषय हुन सक्छ । त्यसको जवाफमा सन् २०१८ एप्पलका तत्कालीन सीईओ टिम कुकले सर्च इन्जिनमा गुगल सबैभन्दा उत्कृष्ट रहेको बताएका थिए ।
अब कुरा रह्यो, यो सम्झौता कहिले भयो त ? यी दुई कम्पनीले सन् २००५ मै यो सम्झौता गरेका थिए, जसलाई त्यो समयकै ठूलो सम्झौताको रुपमा हेरिएको थियो ।त्यसको दुई वर्षपछि मात्रै एप्पलले आईफोन सार्वजनिक गरेको हो । भने, उक्त सम्झौता सन् २०१० सम्म निरन्तर चलिरह्यो ।विस्तारै एप्पलका प्रयोगकर्ता बढ्दै गए र सम्झौताको रकम समेत वृद्धि हुँदै गयो । जुन आजसम्म पनि निरन्तर रहेको छ ।
यी कुरा गरीसक्दा गुगलले एप्पललाई कति पैसा तिर्छ भन्ने विषय धेरैका लागि चासोको विषय हुन सक्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार गुगलले कुनै एक कम्पनीलाई यति धेरै पेमेन्ट गर्ने यो नै पहिलो सम्झौता हो ।जुन वार्षिक रुपमा एप्पलले गर्ने खुद नाफाको १४ देखि २१ प्रतिशत हुने आउने आँकलन गरिएको छ । उक्त सम्झौतामा कुनै गोप्य नभएता पनि पैसाको विषयमा अमेरिकी नियामकको दबाबका कारण उल्लेख गरिएको छैन ।तर पनि सन् २०१४ मा गुगलले एप्पललाई एक अर्ब अमेरिकी डलर बुझाएको थियो । जुन पछिल्ला वर्षहरुमा ठूलो मात्राले बढी रहेको छ । भने, यो वर्ष १८ देखि २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
अब कुरा रह्यो यति धेरै पैसा तिरेर गुगलले के पाउँछ त ? पछिल्लो सयम एप्पलका प्रयोगकर्ता ठूलो मात्रमा वृद्धि भएको छ । यस्तोमा गुगल सर्च इन्जिनलाई डिफल्ट बनाउँदा गुगलको ट्राफिक बढ्ने भयो ।एक अध्ययनका अनुसार गुगलको करिब आधा ट्राफिक एप्पलका डिभाइसबाट आउने गरेको छ । उक्त ट्राफिकमार्फत गुगलले ठूलो विज्ञापन प्राप्त गरिरहेको हुन्छ ।सन् २०२० मा गुगलले गुगलको सर्च विज्ञापनमार्फत १०४ बिलियन अमेरिकी डलर आम्दानी गरेको अनुमान गरिएको छ । जुन गुगलले विज्ञापन बाट गर्ने कुल आम्दानीको ७१ प्रतिशत हो । भने, अल्फावेटको आम्दानीको ५७ प्रतिशत ।त्यो हिसाबले पनि गुगलले एप्पललाई तिरेको उक्त रकम गुगलका लागि नै फलदायक हुँदै आएको छ ।