वीरगन्ज ।जानकी मन्दिर परिसरभित्र रहेका फोटोसहितको बोर्ड अविलम्ब हटाउन माग गरिएको छ । युवा अभियन्ता सरोज कुमार मिश्रले जानकी मन्दिर परिसरभित्र रहेको मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको बोर्ड अविलम्ब हटाउन माग गरेका हुन् ।उनले मन्दिर परिसर र पर्खालमा प्रचारप्रसार गर्नेहरू विरुद्ध उचित कारबाही सहित जरिवानाको व्यवस्था गर्न सम्बन्धित सरोकारवालासँग माग गरेका छन् । युवा अभियन्ता मिश्रले तीन दिनभित्र उक्त बोर्डहरू नहटाइए आफूहरू सरसफाइ गर्न बाध्य हुने समेत बताएका छन् ।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,‘जानकी माताको फूलबारी बचाउन नसक्ने सरकार कुन नैतिकताले आफ्नो फोटो सहितको बोर्ड जानकी मन्दिर परिसर भित्र झुण्डाएका छन् ? सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानको नाममा अनियमित कामहरू गरिरहेका छन् । जबकि दिनहुँ त्यही बेटीहरूमाथि बलात्कार, हत्या, हिंसा, यातनाका घटनाहरू बढ्दै गइरहेको अवस्था छ ।’ उनले अनियमितता गर्न मात्र अभियान सञ्चालन गरेर बेटीलाई बचाउन र पढ़ाउन सकिन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् ।
बेटीको लागि खोलिएको बीमाको अवस्था के छ ? बेटीहरूको पहुँच शिक्षातर्फ कसरी वृद्धि हुन्छ ? सुशासन र चुस्त शान्ति सुरक्षा कायम गरी बेटीहरू निर्भीकतापूर्वक समाजमा हिँड्ने वातावरण कसरी बन्छ ? लगायतका प्रश्नहरू गर्दै उनले त्यस तर्फ दृष्टि नपुगाएका सरकारले बजेट मात्र चलाएर भ्रष्टाचार गर्ने उपाय अवलम्बन गरेको आरोप समेत लगाएका छन् ।जानकी मन्दिर अथवा अन्य कुनै धार्मिक पर्यटकीय स्थलमा उक्त स्थलको विशेषता, वर्णन र जानकारी बाहेकको कुनै पनि बोर्ड, ब्यानर, पोस्टर, प्रचार मान्य नहुने उनको जिकिर छ । उनले आफूहरू त्यसको विरोध र प्रतिकार गर्न समेत तयार रहेको बताए ।