वीरगञ्ज । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै आज सडकमा प्रदर्शन गरेको छ ।
युवा संघका सचिवालय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष महमद निजामको आयोजनामा वीरगंजको घण्टाघरमा अध्यादेशको विरुद्धमा सडक प्रदर्शन गरेका छन् । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै संघले विरगंजको घण्टाघर हुँदै माइस्थान चौक , आदर्शनगर चौक , घडिअर्वा पोखरी परिक्रमा गरी पुन घण्टाघरमा आई प्रदर्शन गरेका छन् ।
सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष निजामले परमादेशबाट बनेको सरकार नेपाली नागरिकको नभई देशी विदेशी तत्वहरुको स्वार्थको लागि भएको उल्लेख गर्दै । वर्तमान सरकार नेपाली नागरिकको पक्षमा नरहेको जिकिर गर्नुभयो । मुलुकलाई स्थिरता तर्फ लैजानुपर्नेमा वर्तमान सरकारले व्यवस्थालाई नै ध्वस्त बनाउने गरी षड्यन्त्रकारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो । एमालेको नेतृत्वको सरकारले २२ लाख भूमिहिन तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारीमा पुगेको अवस्थामा देउवा नेतृत्वको सरकारले भूमि समस्या समाधान सम्बन्धी आयोग विघटन गरी लाखौं गरिव जनतामाथि घन चलाएको बताउनुभयो ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रिय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्ने सक्ने गरी राजनीतिक बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा संघका केन्द्रीय सदस्य रवि गुप्ताले बताए ।
संघका जिल्ला सचिव अकलेश साहले विकास र समृद्धिको नायक एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली रहेको उल्लेख गर्दै वर्तमान कांग्रेस, माओवादीलगायतका दलहरुको गठबन्धनको सरकारले देश र जनतालाई कुठाराधात गरेको भन्दै आक्रोस जनाउनुभयो ।
प्रदेश कमिटी सदस्य तेजप्रकाश निषादले ओली नेतृत्वको सरकारले भारतसँग आँखामा आँखा जुधारएर नेपालको गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने क्रममा रहेको स्पष्ट पार्दै वर्तमान सरकारले नेपाली जनताको पक्षमा भारतविरुद्ध चुइक्क बोल्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । महाकाली नदीमा तुहिनबाट तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काटेर जयसिंह धामी वेपत्ता भएको विषयमा समेत सरकारले भारतसँग बोल्न नसकेको उल्लेख गर्दै निषादले वर्तमान सरकार कठपुतली मात्र भएको बताउनुभयो ।
संघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । संघका कार्यकर्ताले सरकारले ल्याएको अध्यादेशलाई च्याती फालेका थिए।दल विभाजनसम्बन्धी विधेयक खारेज गर लगायत विभिन्न नारा लगाएर युवाहरुले प्रदर्शन गरेका छन्।
विरोध प्रदर्शन कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य महमद मेराज , बाबुराम खनाल ,चन्दन गुप्ता , जिल्ला कमिटी सचिव सन्तोष पासवान , जिल्ला कमिटी सदस्य सुवास साह , तारा दुङ्गेल ,मानिस यादव, राजेश सहनी, बल्वन्त यादव , अमित यादव , जोगिंदर पौडेल , दिलीप रौनियार ,परवेज , असगर अलि , दिनेश साह , अर्जुन नेपाल , उमेश साह तेली , सन्तोष पटेल ,भोला यादव लगायतको उपस्थिति रहेको थियो।