वीरगञ्ज । जर्मनीले अफगानिस्तानका लागि दिँदै आएको विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अफगानितानमा तालिबान सत्तामा पुगेपछि उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्ड मुलरलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको सहयोग केही समयको लागि निलम्बन गरेको विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टको अन्तरवार्तामा भनेका थिए। जर्मनीले सहयोगमा कटौती गरेसँगै तालिवानलाई आर्थिक स्रोत जुटाउन निकै अप्ठ्यारो पर्ने देखिन्छ ।
अमेरिकी प्रतिक्रिया
यसैबीच अमेरिकाले अफगानिस्तानमा नियन्त्रणपछि तालिबानको पहिलो आधिकारिक वक्तव्यमा उसले जनाएको मानवअघिकारको सम्मान गर्ने प्रतिबद्धतालाई आफूले नियाल्ने बताएको छ।मङ्गलवार तालिबानले पत्रकार सम्मेलन गर्दै मानव अधिकार, महिलाको अधिकार र स्वतन्त्र प्रेस प्रति प्रतिबद्धता जनाएको थियो।
यद्यपि उसले इस्लामिक मान्यता अनुसार महिलाहरूले अधिकार पाउने बताएको थियो। प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका थिए।
आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिएका थिए।संयुक्त राष्ट्रसङ्घले चाहिँ पहिले तालिबानका गतिविधिहरू हेर्नुपर्ने बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अवस्थाबारे ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनसँग कुराकानी गरेका छन्। ह्वाइट हाउसका अनुसार साझा रणनीति निर्माणका लागि सम्पन्न राष्ट्रहरूको सङ्गठन जी सेभेनका नेताहरूले आगामी साता छलफल गर्नेछन्।