जनकपुर | जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटक–पटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ गत मङ्सिर महिनादेखि आफ्नो छोराहरूका साथ चितवन स्थित नारायणगढमा बस्दै आएका थिए ।
वरिष्ठ पत्रकार श्रेष्ठको ७३ वर्षको उमेरमा असामयिक निधन भएको उनको भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले जानकारी दिए । राजनीतिदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेका उनको निधनले जनकपुरधामको पत्रकारिता क्षेत्रले कुशल अभिभावक गुमाएको वरिष्ठ पत्रकार बीएम खनालले बताए ।पत्रकारिता क्षेत्रमा ०२७ देखि सक्रिय रहेका वरिष्ठ पत्रकार श्रेष्ठ जनकपुर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्षमा समेत पटक–पटक निर्वाचित भएका थिए ।वरिष्ठ पत्रकार श्रेष्ठको असामयिक निधन भएको प्रति प्रेस सङ्गठन नेपाल धनुषाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
३ दाजुभाइमध्ये पत्रकार श्रेष्ठ सबैभन्दा जेठो हुन् । उनको माइलो भाइ शंकरलाल श्रेष्ठ पनि पत्रकार छन् । उनको एक श्रीमती, २ छोरा र २ छोरी छन् । पत्रकार श्रेष्ठको पार्थिव शरीरलाई शुक्रवार साँझ नारायण घाटको आर्यघाटमा अन्तिम संस्कार गरिएको माइलो भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले बताए ।