यसै अवधिमा १३ हजार ७ सय १४ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण बढ्दै जाँदा निको हुनेको सङ्ख्या कम हुँदै गएको छ ।
साउन २२ गते सङ्क्रमण दर २३.७८ प्रतिशत रहेको थियो । यस्तै साउन २३ गते २३.७० प्रतिशत, २४ गते २०.५८ प्रतिशत, २५ गते २२ प्रतिशत, २६ गते २५.६४ प्रतिशत, २७ गते २०.८९ प्रतिशत र हिजो अर्थात् २८ गते सङ्क्रमण दर २१.०८ प्रतिशत देखिएको छ ।
मन्त्रालयको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमण दर २० प्रतिशत भन्दा माथि रहेको छ । तर, पर्याप्त परीक्षण हुन नसक्दा सङ्क्रमितको वास्तविक सङ्ख्या सार्वजनिक हुन नसकिरहेको देखिन्छ ।
यस्तै सङ्क्रमण दर २० प्रतिशतभन्दा बढी रहँदा कोभिड-१९को सङ्क्रमण अझै भयावह अवस्था सजिलै सिर्जना गर्ने बिन्दुमै रहेको स्पष्ट हुन्छ । अर्कोतिर २० प्रतिशत भन्दा बढी सङ्क्रमण दर रहेको अवस्थामा निषेधाज्ञा खुकुलो नै रहनुले सङ्क्रमितहरू जानकारीमा नआए पनि सङ्क्रमण ह्वात्तै बढिरहेको अनुमान गर्न सकिन्छ ।
साउन पहिलो साताको तुलनामा सङ्क्रमण दर बढेको देखिएको छ । असार ३१ देखि साउन ६ गतेसम्म ७ दिनको अवधिमा परीक्षण गरेका मध्ये १९.८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै साउन ७ देखि १३ गते सम्म उक्त सङ्क्रमण दर बढेर २०.२७ प्रतिशत पुगेको थियो । यो साता अर्थात् साउन २२ देखि २८ गतेसम्म ७ दिनको अवधिमा सङ्क्रमण दर २२.६४ पुगेको छ ।
पछिल्लो समय सक्रिय सङ्क्रमित सङ्ख्या समेत बढ्दै गएको छ । साउन २८ गते अर्थात् हिजो सक्रिय सङ्क्रमित सङ्ख्या ३८ हजार १ सय ८० पुगेको छ । सङ्क्रमित बढ्दै जाँदा निको हुनेको सङ्ख्या घटेको देखिन्छ ।