वीरगन्ज । अफगानिस्तानको गृह मन्त्रालयले तालिबानले आमनागरिक, महिला, बच्चा, मौलवी र मस्जिदलाई निशाना बनाएको बताएको छ । मन्त्रालयका अनुसार तालिबानले यस सालको सुरुवातबाट अहिलेसम्म २४ मस्जिदमा हमला गरेको छ । जुन हमलामा परी ३० मौलवीको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यसैगरी मस्जिदहरूमा पनि धेरै क्षति भएको छ ।
हमलाको डरले करिब ढाइ लाख मानिस घर छाडेर विस्थापित हुन बाध्य भएका छन् ।संयुक्त राष्ट्र संघका अनुसार अफगानिस्तानमा पछिल्लो तीन महिनामा २ लाख ४४ हजार मानिस विस्थापित भएका छन् । अलजजिरा मिडियाको रिपोर्ट अनुसार पछिल्लो वर्षको तुलनामा विस्थापित हुनेको संख्या ३०० प्रतिशतले बढेको छ ।
रिपोर्ट अनुसार विस्थापित हुनेमा सबैभन्दा धेरै पूर्वाेत्तर र पूर्वी अफगानिस्तानका रहेका छन्। अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीसँगै देशमा हिंसा बढ्दै गइरहेको छ । तालिबानले हालसम्म पाँचवटा प्रान्तको राजधानीमा कब्जा गरिसकेको छ ।तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।