वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। अब उनीहरू साधारण सदस्य मात्रै रहेका छन्।
जसपाले अध्यावधिकका लागि निर्वाचन आयोगमा ३५ जना केन्द्रीय सदस्यको नाम मात्रै पठाएको थियो। त्यहिअनुसार, आयोगले अध्यावधिक गरेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इश्तियाक राईले बताए।
जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्य थियो। निर्वाचन आयोगले आधिकारिकताका लागि सनाखत गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए भने रेमश चौधरी तटस्थ बसेका थिए।
त्यसपछि आधिकारिकता पाएसँगै यादवको अध्यक्षतामा बसेको जसपा केन्द्र्रीय कार्यकारिणी समिति बैठकले ठाकुर र महतोसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउने निर्णय गरेको थियो। त्यस्तै, तटस्थ बसेका चौधरीलाई पनि केन्द्रीय कार्यकारिणी समितिमा यथावत राखेको थियो।
जसपाले त्यहिअनुसार, अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो। यादवको पक्षमा उभिएका ३४ र तटस्थ बसेका चौधरीसहित जसपा केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय बनेको छ। त्यसमा यसअघि अध्यक्ष रहेका ठाकुर र महतो लगायत १६ जना नेता अटाएका छैनन्।