वीरगन्ज । नेपाली कांग्रेसका शीर्ष नेताहरू क्रियाशील सदस्यता विवाद टुंग्याउन असफल देखिएका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठकले दिएको समयावधिभित्र शीर्ष नेताहरु विवाद समाधान गर्न असफल भएका हुन्।
साउन १४ गते प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको थियो।
पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिम्मेवारी दिएको एक दिनपछि बसेको शीर्ष नेताहरुको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यता विवाद टुंग्याउने निष्कर्ष पनि निकालेको थियो।
तर, शीर्ष नेताहरु तोकिएको समयावधिभित्र भने विवाद समाधान गर्न असमर्थ देखिएका छन्। उनीहरूबीच फेरि तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।
बूढानीलकण्ठमै बुधबार बसेको शीर्ष नेताहरुको बैठकले सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।
‘क्रियाशील सदस्यताको विषयमा मूलतः एकदुई कुरा टुंग्याउन बाँकी थियो। जुन कुराहरु नेताहरुकै तहबाट निर्णय गर्ने सहमति भएको थियो,’ उनले भने, ‘यस विषयमा छलफल भएको छ। सबै नेताहरुले आफ्नो विचार राख्नुभएको छ। सकारात्मक छलफल भएको छ। छलफलले निरन्तरता पाउने छ। दुई तीन दिनभित्रै टुंगो लाग्छ।’
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखक र डा. मिनेन्द्र रिजाल सहभागी थिए।