बिरगंज। भारतले दुई महिनाको लागि दक्षिण चीन सागरमा चार युद्धपोतको एक टास्क फोर्स पठाउँदैछ । जहाँ भारतीय फौजले अमेरिका, जापान र अष्ट्रेलियाका क्वाड साझेदार मुलुकका फौजसँग अभ्यास गर्नेछ ।भारतीय रक्षा मन्त्रालयले सोमबार यसबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । रक्षा मन्त्रालयका अनुसार दुई युद्धपोतहरु यसै महिनको सुरुमा त्यसतर्फ प्रस्थान गर्नेछन् । तर प्रस्थान मिति भने रक्षा मन्त्रालयले यकिन गरेको छैन ।
भारतीय टास्क फोर्सले अन्तिम तयारी गरेको बताइएको छ । जसमा एक गाइडेड मिसाइल विनाशक लगायत लडाकु विमान तयारी अवस्थामा राखिएको छ । दुई महिनाको अवधिमा भारतीय फौजले मालाबार २०२१ मा अमेरिका, जापान र अष्ट्रेलियासँग नौसेना अभ्यासमा पनि भाग लिनेछन् ।
यस क्रममा भारतीय युद्धपोतको सिंगापुर, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सका नौसेनासँग पनि द्विपक्षीय अभ्यास हुने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
विश्वका शक्ति राष्ट्रहरुबीच विवादको कारण बनेको दक्षिण चीन सागरलाई चीनले आफ्नो सार्वभौम क्षेत्र दावी गर्दैआएको छ । पछिल्लो समय यही क्षेत्रलाई लिएर चीन र अमेरिकाबीच विवाद तिब्र रुपमा बढेको छ ।