ढाका | बङ्गलादेश सरकारले कोभिड-१९ नियन्त्रणका लागि जारी लकडाउनलाई थप कडाइका साथ आगामी पाँच दिनका लागि थप गर्ने निर्णय गरेको छ।सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगस्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री एकेएम मोजमेल हकले बताएका छन्।
अगस्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लैजाने उनले बताए।
उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए। जुलाई २१ मा यहाँ मनाइने ईद अल-आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्ट ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो।