वीरगन्ज ।शुक्रबार राति एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गणेश बूढाले फेसबुकमा अपलोड गरेको यो भिडियो अजिबको छ। यसमा पूर्व युवराज पारस शाह ‘जान्नँ, जान्नँ..’ भन्दै गरेका सुनिन्छन्।
आमाबाबुले कतै जाउँ भन्दा सानो बच्चाले जिद्दी गरेको जस्तो सुनिन्छ आवाज, ‘जान्नँ..जान्नँ..जान्नँ भनेको !’
प्रहरी भने तान्दै गरेका देखिन्छन्।
फेसबुकमा भिडियो यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ
नारायणगोपाल चोक, महाराजगञ्जको दृश्य रहेछ यो। खासमा भएको के रहेछ भने पूर्व युवराज पारस शाह हेल्मेट नलगाई बाइक चलाएर आएछन्। कुन चैँ ट्यापे रहेछ भनेर ट्राफिकले पक्रेको थियो होला, पारस पो !
अब अहिले राजतन्त्र छैन भन्दैमा पारस कहाँ अरु जस्तो लुत्रुक्क परेर जान्छन् त। जे भए नि खान्दानी शाहवंशीय रगत पो बगेको छ त!
“जान्नँ”
“जाँदै जान्नँ म”
“तैँले भन्दैमा जान्छु !”
यता गणतन्त्रका ट्राफिक प्रहरीको पनि पारा कडै देखियो। प्रहरीले पनि जबर्जस्ती नै पारसलाई कतै लान खोजेको देखिन्छ।
हात समातेर तान्दै गरेका प्रहरी र जान्नँ भन्दै गरेका पारस।
प्रहरीले आफ्नो सेटबाट मेसेज पनि पास गर्छन्- सर, नारायणगोपाल चोकमा एक जना रक्सी खाएर आएर एकदम लफडा गरिराछ, गाडी तुरुन्त पठाउनु।
यता केही जनता राजतन्त्र आएर देश बचाउन गुहार लगाइरहेको बेला उता पारस भने ट्राफिकसँग झगडा गर्दै गरेको दृश्य पो भाइरल भयो। राजतन्त्र कालमा गायक प्रवीण गुरुङलाई किच्दा समेत कारबाही नभएको देशमा जाबो एउटा हेल्मेट नलगाउँदा सडकमा उभिने ट्राफिकले तान्दै गरेको दृश्य पनि कुनै दिन देखिएला भनेर न राजावादीले सोचेका थिए होला न गणतन्त्रवादीले नै।
त्यो हिसाबले यो अद्भूतै दृश्य भइहाल्यो।
देश बचाउन राजा आउनु पर्छ भन्नेहरुले सोचेका छन् कि छैनन् कुन्नि, बिचरा त्यो ट्राफिकले आफ्नो लागि हेल्मेट लगाउन भनेका होइनन्, पारसकै लागि भनेका हुन्। कतै केही दुर्घटना भयो भने तपाईँको टाउको हैन, पारसकै टाउको ठोक्किन्छ र त्यसले पारसकै ज्यानमा खतरा हुने हो। बाटोमा तपाईँ पनि ठोक्किन सक्नुहुन्छ। बाटोमा हिँड्दा तपाईँले हेल्मेट लगाउने कुरा भएन।
अहिले देशमा राजतन्त्र लोकप्रिय हुनुको कारण केही गरेर होइन, केही पनि नगरेकोले हो। नगरे पछि विवाद हुने कुरा भएन। आफ्नै सुरक्षाका लागि बनाइएको सामान्य ट्राफिक नियमसमेत मिच्न खोज्नेबाट शक्ति भएमा अरु के के मात्र मिचिन्थ्यो होला !
खैर, ट्राफिकले पारसलाई कारबाही गर्न सके पनि नसके पनि सडकमा बाइक कुदाउँदा ट्राफिक नियम पालना गर्ने चैँ सद्बुद्धि आइदिए हुन्थ्यो उनलाई !https://www.mysansar.com/2021/07/48282/