वीरगन्ज । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको जोखिमका कारण नेपालमा पनि लामो समयसम्म धेरैजसो सेवा बन्द भए । १५ महिनाको यो अवधिभर केही अत्यावश्यक सेवाबाहेक प्राय ठप्प रहे । अर्थात् देशव्यापी रूपमा लकडाउन घोषणा गरियो । संक्रमणदर दिनानुदिन बढ्दै जाँदा लकडाउनको समयावधि पनि थपिँदै गयो ।यसको असर शैक्षिक क्षेत्रमा सबैभन्दा बढी पर्यो । लामो समयसम्म पनि भौतिक उपस्थिति गराउन सम्भव नभएपछि विद्यालय प्रशासनले अनलाइनबाट नै पठनपाठन गर्ने र गराउने निर्णय गरे ।एक समयमा त छोराछोरीको अनलाइन कक्षाका लागि भनेर ऋण लिएरै भए पनि मोबाइल, ल्यापटपजस्ता डिभाइसहरू खरिद गर्ने अभिभावकहरूको संख्या ठूलो मात्रामा थियो ।
लामो समयको बन्दाबन्दी र घरमा बसेका बालबालिकाको बिग्रँदै गरेको मानसिक चिन्तनहरू नियाल्दै गर्दा अनलाइन कक्षाले अभिभावकहरूको मनमा एकप्रकारको उत्साह जन्माएको थियो । यसकिसिमको अभ्यास नेपालमा पहिलो पटक नै हो । यसरी अनलाइनबाट गरिएको पठनपाठन अनि यसले ल्याउने नतिजा कस्तो होला भन्ने कुतूहलता विद्यार्थी र अभिभावक सबैको मनमा पक्कै थियो ।अनलाइन कक्षाले अभिभावकले सोचेजस्तो गति लिन सकेन । मोबाइल वा ल्यापटपअगाडि विद्यार्थीहरू बसेका त देखिन्छन् तर पढाइभन्दा पनि अनलाइन गेम, सिरियल हेर्नेजस्ता काममा बढी ध्यान दिनेगरेको अभिभावकहरूको गुनासो छ ।
बालबालिकालाई महँगो खर्च गरेर मोबाइल, ल्यापटपजस्ता डिभाइसको जोहो जसोतसो गरेका अभिभावकहरू विद्यालयले लिने महँगो शुल्कले दिग्दार भएका छन् । भौतिकरूपमा विद्यालयमा उपस्थित भएजस्तो प्रभावकारी सिकाइ अनलाइन कक्षाबाट नभएको अभिभावकको दाबी छ । जसले गर्दा एकातिर शैक्षिक सिकाइ प्रभावकारी भएको छैन भने अर्कोतिर विद्यालयले शतप्रतिशत शुल्क लिइरहेका छन् ।छोराले राम्रो पढ्ला कि भनेर ऋण लिएर अनलाइन कक्षाको लागि मोबाइल किनेर ल्याइदिइन्, ओखलढुङ्गा स्थायी घर भई ललितपुरको बालकुमारी बस्दै आएकी सबिता गिरीले । उनी छोरो पढाउनकै लागि काठमाडौँ आएकी हुन् । ‘किताब कपि अगाडि राख्छ, पढ्दै होला छोरो भन्यो के–के गेम खेलेर बस्नेरहेछ ।’ उनी भन्छिन्, ‘सधँै के गर्छ भनेर अगाडि बसेर हेरिरहन पनि भ्याइँदैन, कहिलेकाहीँ हेर्दा त्यस्तै हुन्छ । अनलाइन कक्षा भइरहन्छ क्यामेरा अफ गरेर गेम मात्र खेल्नेरहेछ ।’
अभिभावकको थाप्लोमा बालबालिका मन लगाएर पढिरहेका छैनन् भन्ने मात्रै चिन्ता छैन, विद्यालयले शुल्कको लागि भनेर पटक–पटक फोन गरिरहन्छ । ‘यो वर्ष त स्कुलमा गएर त छोराले पढेकै छैन, अनलाइन कक्षाको शुल्क समेत भौतिक उपस्थितिमा लिएजति नै तिर्नुपर्ने भन्दै छन् ।’ उनी निराश हुँदै भन्छिन् ।न छोराले ध्यान दिएर पढेको छ न त सबै पढाइसकेका छन् । स्कुलले पहिलाजति नै शुल्क मागेको माग्यै छ । ‘पैसाको मात्र नाश हुनेभयो । नदिऊँ भने पनि परीक्षा नै दिन नपाउने भन्छन् जसरी पनि दिनै पर्छ ।’ उनी भन्छिन्, ‘यो मेरो मात्र नभएर आम नेपालीको समस्या हो ।’
अनलाइन कक्षा भन्छन्, के गर्छन्–गर्छन् । आफूले शिक्षा लिन नपाएका कारण उनीहरूले जे भने पनि होला त नि भन्ने लाग्छ अभिभावकलाई । ‘आफूले पढ्न पाइएन, किताब र ल्यापटप अगाडि फिँजाएपछि पढेकै होला भन्ने लाग्छ ।’ उनी भन्छिन्, ‘कहिलेकाहीँ ठूलो–ठूलो आवाज निकालेको सुनेर दौडेर जान्छु गेम खेलेर बसेको हुँदोरहेछ । यसरी न त उनीहरूले केही सिक्छन् न त अभिभावकको ऋणको बोझ हलुका हुन्छ । कोरोनाले पार्नुसम्म पिर पार्यो नि !’यसरी अनलाइन कक्षाको नाममा दिनानुदिन बालबालिकाहरू मोबाइल, ल्यापटपमा भुलिन थालेका छन् । कतिपय बालबालिकाहरू समयमा खाना नखाने, समयमा नसुत्ने गर्नथालेका छन् । कारण उनीहरू एकोहोरो ल्यापटप, मोबाइलमा हेरिरहँदा आँखामा समेत समस्या आउन थालेको छ भने अनावश्यक सामग्रीतिर उनीहरूको रुचि बढ्न थालेको अभिभावकहरूको गुनासो छ ।
अहिले बजारमा दिनानुदिन बढ्दै गएको पब्जी, फ्रीफायरजस्ता गेमहरूको लतमा परी उनीहरू अनौठो खालकोे स्वभाव देखाउन थालेका छन् । अहिले सुन्दा यो सामान्य लागे पनि पछि गएर मानसिक तनावको कारण निम्तिने विज्ञले बताएका छन् । त्यसैले तत्काल यस्तो अनलाइन खेलहरू बन्द गराउन सरकारलाई अनुरोध समेत उनले गरिन् ।लामो समयसम्म विद्यालयमा नै गएर पठनपाठन गर्ने/गराउने वातावरण नभएपछि बालबालिकाले आफ्ना साथीभाइहरूसँग खेल्न बिर्सँदै गएका छन् । २४ घन्टामा १८ घण्टा त मोबाइल र ल्याप्टपलाई नै उनीहरूले साथी बनाएका छन् । जसले गर्दा बालबालिकाहरूलाई परिवार, समाजसँग घुलमिल हुन पनि गाह्रो हुने देखिन्छ । जतिबेला पनि मोबाइलमा नै हुन्छ ध्यान, को आयो को गयो केही थाहा छैन ।आफ्नै तालमा व्यस्त हुन्छन्, अहिले बच्चाहरू । यसले उनीहरूको बालमनोविज्ञानमा कति असल गर्ला ? यसै पनि २० वर्षपछि हरेक घरमा एक मानसिक रोगी हुन्छन् भनेर विज्ञले समेत बताइरहेको सन्दर्भमा यसबारेमा सम्बन्धित सबै पक्षले सोच्न जरुरी छ ।