सिरहा | सिरहा धनगढीमाइ नगरपालिकास्थित दुई दिनअघि मृत्यु भएकी ज्ञानकुमारी महतोको शव बोकेर माइती तथा आफन्तहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
२९ वर्षीया महतो सोमबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । तर श्रीमानको परिवारले हत्या गरेको आरोप लगाउँदै माइती पक्षले प्रहरी कार्यालय अगाडि शव बोकेर प्रदर्शन गरेको हो ।
धनगढीमाइ नगरपालिका ६ स्थित सिमराका सुनील महतोकी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो ।
धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ज्ञानकुमारीको मृत्यु वा आत्महत्या नभएर हत्या भएको माइती पक्षको आरोप छ ।
मृतककी आमा महेश्वरी महतोका अनुसार आफ्नो छोरीका पति सुनीलको मानसिक अवस्था कमजोर छ । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससूरा र देवरले विभिन्न किसिमका यातना दिने गरेको माइती पक्षको गुनासो छ । सोही यातना बढ्दै गएर हत्या नै गरेको उनीहरुको आरोप छ ।
पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले बेवास्ता गरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको माइतीहरुको भनाइ छ । प्रहरीले भने शव झुण्डिएको अवस्थामा भेटिएकाले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यसको आधारमा प्रक्रिया अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।
‘आरोपकै भरमा जाहेरी लिन मिल्दैन,’उनले भने, ‘पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौँ । रिपोर्टको आधारमा हामी आफैँ कानुनी प्रक्रिया अगाडि बढाइहाल्छौँ ।’