वीरगन्ज । श्रीलंकामा ठूलो मात्रामा नीलम(एक प्रकारको मणी) फेला परेको छ। श्रीलंकाली अधिकारीहरुका अनुसार रत्नका एक व्यापारीको घरमा खाल्डो खन्ने क्रममा ठूलो मात्रामा नीलममणी फेला परेको हो।
बीबीसीका अनुसार श्रीलंकाको रत्नपुरा क्षेत्रका एक व्यापारीको घरको आगनमा खाल्डो खन्ने क्रममा कामदारले ५१० किलो निलम फेला पारेका हुन्।रत्न प्रचुरमात्रामा रहेको मानिने उक्त क्षेत्रमा फेलापरेको उक्त नीलमको मूल्य १०० मिलियन अर्थात् करिब १२ अर्ब रुपैयाँ (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको विज्ञहरुले बताएका छन्।
यसलाई सेरेन्डिपिटी सफायर अर्थात् भाग्यले फेला परेको नीलम नाम दिएको छ।जसको घरमा यो नीलम फेला परेको छ उनले बीबीसीसँग भने, “जो व्यक्ति खनिरहेका थिए उसले हामीलाई केही दुर्लभ रत्न फेला परेको हुनसक्ने बताएका थिए र पछि हामीले ठूलो मात्रामा नीलम फेला पर्यौं।”
उनले सुरक्षाका कारण आफ्नो पूरा नाम र सही ठेगाना बताएनन्। जसको घरमा यो नीलम फेला परेको छ उनी तेस्रो पुस्ताका रत्न व्यापारी हुन्। नीलम फेला परेपछि उनले सरकारी अधिकारीलाई यसबारे खबर गरेका थिए। तर यसमा लागेको माटो सफा गर्ने र अन्य अशुद्ध चिज निकाल्न एक वर्ष लाग्ने जनाइएको छ।
यसपछि मात्र यो नीलमको सही मूल्य अनुमान लगाउन सकिने छ। सफाइका क्रममा यसबाट केही रत्न खसेका थिए र गुणवान नीलम भएको पत्ता लागेको जनाइएको छ। रत्नपुरालाई श्रीलंकाको रत्न राजधानीको रुपमा लिइन्छ। र सिंहली भाषामा यसको अर्थ रत्नको शहर हुन्छ।
पहिला पनि यो शहरमा कयौं मूल्यवान रत्न फेला परेका थिए। श्रीलंका विश्वभरमा पन्ना, नीलम र अन्य बहुमूल्य रत्नको प्रमुख निर्यातकर्ता हो। गत वर्ष श्रीलंकाले मूल्यवान रत्न, हीरा र गहना निर्यातबाट लगभग ५० करोड रुपैयाँ कमाएको थियो।