वीरगन्ज । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।
मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका थिए ।
अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरे ।
भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् ।
कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।