वीरगन्ज ।आधुनिक भारतको इतिहासमै फाँसीको सजाय पाउने पहिलो महिला बन्न लागेकी शबनम अलीको मुद्दामा नाटकीय परिवर्तन आएको छ । शबनमको मुद्दामा उत्तर प्रदेशकी राज्यपाल आनंदीबेन पटेलले दखल दिएकी छिन् । अब शबनमलाई दिइएको फाँसीको सजाय आजीवन कारावासमा बदलिन सक्ने बताइएको छ । सजाय बदल्ने मागसहित आएको निवेदनमाथि अगाडिको कारवाहीको लागि राज्यपाल पटेलले उत्तर प्रदेश सरकारलाई सुम्पिएकी छिन् ।
राज्यपाल आनंदीबेन पटेलको निर्देशनमा उनका विशेष सचिव बद्रीनाथ सिंहले यो मुद्दा उत्तर प्रदेश सरकारको कारागार विभागका प्रमुख सचिवलाई सुम्पिएका छन् । उनले यो मुद्दामा नियमअनुसार उचित निर्णय लिन निर्देशन दिएका छन् । इलाहाबाद हाइकोर्टकी महिला वकिल सहर नकवीले राज्यपालसमक्ष निवेदन दिँदै शबनमको सजाय बदल्न माग गरेकी थिइन् । जुन निवेदनमाथि कारवाहीको लागि राज्यपालले कारगार विभाग प्रमुखकहाँ पठाएकी हुन् ।
सहर नकवीले निवेदन दिँदै शबनमको फाँसीको सजाउ आजीवन कारावासमा बदल्न माग गरेकी थिइन् । नकवीले महिला भएको नाताले शबनमको सजाय बदल्न माग गरेकी थिइन् । देशमा अहिलेसम्म कुनै पनि महिलालाई फाँसीको सजाय नदिइएकोले यो सजायले देशको छवि खराब हुने उनले तर्क गरेकी थिइन् । उनले शबनमलाई सजाय दिने तरिका बदल्न सकिने तर्क गरेकी थिइन् ।
शबनमको एक्ला छोरा १३ वर्षका बिट्टुको हवाला दिँदै सजायलाई आजीवन कारावासमा बदल्न माग गरिएको थियो । निवेदनमा शबनमलाई फाँसी दिँदा उनका छोराको भविष्यमा गलत असर पर्ने बताउँदै संसारमा ती बालकको आफ्नो कोही नभएकोले उनकी आमालाई जीवित राखिनुपर्ने तर्क गरिएको थियो । बालकले जीवनभर अरुको कुरा सुन्नुपर्ने बताउँदै निवेदनमा फाँसीको सजायले बालकको मानसिक विकास र भविष्यमा खराब असर पर्ने तर्क गरिएको थियो ।
सहर नकवीका अनुसार कारागार विभागका प्रमुख सचिवले तमाम दलील र पुराना नजीरको आधारमा बलियो पैरवी गरिने र शबनमको फाँसीको सजाय आजीवन कारावासमा बदल्ने प्रयास हुने बताएका छन् । उनले मानवीय आधारमा सम्भव भएसम्म कोसिस गरिने बताएका छन् । शबनमले आफ्ना प्रेमीका लागि नरसंहार गरेको अभियोगमा उनलाई सजाय सुनाइएको हो ।
शबनममाथि आफ्नै परिवारका ७ जनाको हत्या गरेको आरोप छ । शबनम आफ्ना प्रेमीको प्रेममा यतिसम्म पागल भएकी थिइन् कि उनले आफ्ना मातापिता, दाजु, भाउजु, भाइसहित ७ जनाको निर्दयतापूर्वक हत्या गरेकी थिइन् । शबनमका मातापिता उनको विवाह उनका प्रेमीसँग गरिदिन तयार थिएनन् । यही कारण शबनमले उनीहरुको हत्या गरेकी थिइन् । घटना २००८ को हो ।
उत्तर प्रदेशको अमरोहामा बावनखेडी गाउँमा शिक्षक शौकत अली पत्नी हाशमी, छोराहरु अनीस, राशिद, बुहारी अंजुम र एक्ली छोरी शबनमसँग बस्थे । पिताले एक्ली छोरीलाई निकै प्रेमपूर्वक पालेका थिए र उनलाई राम्रो शिक्षा दिएका थिए । राम्रो पढेका कारण शबनमले शिक्षामित्रमा जागिर पनि पाएकी थिइन् । यही क्रममा शबनमको गाउँमै ८ कक्षा पास युवक सलीमसँग प्रेम भयो ।
उनीहरु विवाह गर्न चाहन्थे तर अलग अलग जातिका मुस्लिम भएका कारण यो विवाहको लागि शबनमको परिवार तयार थिएन । शबनम सैफी मुस्लिम थिइन् भने सलीम पठान समुदायका थिए । परिवारको मर्जीविरुद्ध शबनमले दिनहुँजसो सलीमलाई भेट्नको लागि घर बोलाउन थालिन् । परिवारले यसको विरोध गर्थे । प्रेमीसँग भेट्न कोही बाधक नबनोस् भनेर शबनमले परिवारका सदस्यहरुलाई चुपचाप निद्राको औषधि दिन थालिन् ।
१४ अप्रिल २००८ को रात पनि शबनमले प्रेमीसँग भेट्नको लागि परिवारका सदस्यलाई निद्राको औषधि खुवाइन् । यही क्रममा आफूहरुको विवाहमा बाधक बनेका परिवारका सदस्यका विषयमा शबनमले सलीमसँग गुनासो गरिन् । यही क्रममा उनीहरुलाई बाटोबाट हटाउने षड्यन्त्र बन्यो । रातमा निद्राको औषधिको प्रभावमा सुतिरहेका पिता शौकत, आमा हाशमी, दाजु अनिस, भाइ राशिद, भाउजु अंजुम र फुपुकी छोरी बहिनी राबिया समेत ७ जनालाई पालैपालो बञ्चरोले काटिन् ।
हत्या गरेपछि सलीम फरार भए तर शबनम घरमै बसिन् । भोलिपल्ट बिहान रोएको नाटक गर्दै गाउँलेहरुलाई बोलाएर गुण्डाहरु आएर पूरै परिवारको हत्या गरेको बताइन् । शबनमको सुरुवाती बयानमै पुलिसलाई शंका लागेको थियो । उनको मोबाइल कल रेकर्ड जाँच गर्दा उनको रहस्य खुल्दै गयो । पुलिसले कडाइका साथ सोधपुछ गर्दा शबनमले आफ्नो षड्यन्त्रको खुलासा गरिन् । मुद्दाको सुनुवाइ चलिरहँदा शबनमले जेलमै सलीमको बच्चा जन्माएकी थिइन् ।