वीरगन्ज । सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।
मुख्यगरी चीन, अमेरिका, भारतबाट ठूलो परिमाणमा तास नेपाल आयात हुने गरेकोमा धेरथोर अष्ट्रेलिया, ब्राजिल, मलेसिया, सिंगापुर तथा इजरायलबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट २६ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ९६ हजार ९९१ गोटा तास नेपाल आयात भएको छ ।
यस्तै, यो बाहेक डिजिटल (भिडियो) गेमिङ्ग तथा गेम खेलाउन प्रयोग हुने मेसिनहरुको समेत आर्थिक वर्षमा उल्लेखनीय आयात भएको विभागले जनाएको छ ।
यस्तो भिडियो गेमिङ्गका सामग्रीहरु चालू आर्थिक वर्षको १२ महिनामा अधिकतम ३९ लाख २४ हजार रुपैयाँ बराबरको १६ हजार ७१० गोटा आयात भएको विभागद्वारा जारी तथ्याङ्क जनाइएको छ । जसबाट सरकारलाई १२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।