रौतहट । भारतसँग सीमा जोडिएका तराई मधेसका जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारी साधनहरु चल्नु सामान्य झैँ बन्दै आएको छ । भारतसँगको खुला सम्बन्धमात्र नभइ रोटीबेटीको सम्बन्धका कारण भारतीय नम्बर प्लेटका सवारी साधनहरु पनि स्थानीयको रोजाइमा पर्ने गर्छ ।तर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरित चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्लाभरनै अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिन थालेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लामा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारी साधनहरु नियन्त्रणमा लिन थालेको छ । गत साउन १ गतेदेखि ट्राफिक कार्यालयले रौतहट जिल्ला भित्र चल्ने अवैध भारतीय नम्बर प्लेटका सवारी साधनहरु नियन्त्रणमा लिन सुरु गरेको हो ।
यस क्रममा साउन ८ गतेसम्म ५० वटा मोटरसाइकल र ३ वटा कार नियन्त्रणमा लिइसकेको छ । सुरुमा केहीदिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय रेडियोहरुबाट सुचना प्रशारण गरेर, माइकिङ्ग गरेर सर्वसाधरणलाई जानकारी दिएको र साउन १ गतेदेखि चेकिङ्ग गरेर नियन्त्रणमा लिन सुरु गरेको हो ।भारतसँग सीमा जोडिएको रौहतटमा भारतबाट नयाँ मोटरसाइकल, कार लगायतका सवारीसाधन किनेर चलाइनु सामान्य रहेको स्थानीय बताउँछन् । जिल्लाका नेता, जनप्रतिनिधिहरु, सम्वृद्ध वर्गका व्यक्तिहरुले पनि भारतीय नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जिल्लाभर भएका ३ सय ६९ मोटसाइकल दुर्घटना भएकोमा १ सय ७२ भारतीय नम्बर प्लेटका मोटरसाइकल रहेका थिए ।यसरी चलेका सवारीसाधनहरुबाट एक त राज्यले वर्षैनी करौडौँ राजस्व गुमाइरहेको छ भने अर्कातिर दुर्घटना भएमा पनि त्यस्ता सवारी साधनहरु र सवारी धनीहरुलाई समात्ने कुनै आधार नहुने प्रहरीको भनाइ छ ।यस्ता अवैध भारतीय नम्बर प्लेटका सवारी साधनहरुबाट ‘हिट एण्ड रन’का घटनासँगै अपराधिक कृयाकलापहरुमा प्रयोग हुने खतरा रहेको छ । नेपालको कानून अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमात्यस्ता सवारीसाधनहरु चल्ने गरेका छन् ।
भारतमा सस्तोमा पाइने, सवारी कर तिर्नु नपर्ने भएकाले स्थानीयहरुको आकर्षण भारतीय नम्बर प्लेटका सवारी साधनमा रहेको छ । यता जिल्ला ट्राफिक प्रहरीले पहिलो दिन नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधिहरुको सिफारिस आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय श्रोतले जनाएको छ ।यसरी सिफारिस गर्नेहरुले तराइमधेसमा भारतीयनम्बर प्लेटका सवारी साधन चल्नु सामान्य भएको र यसलाई नियन्त्रण गर्न असम्भव भएकाले नियन्त्रणमा लिएकाहरुलाई छाडिदिन दवाव दिने गरेका छन् ।