बीरगन्ज । बीरगन्ज महानगरपालिका आदर्शनगरस्थित अतिव्यस्त रहने सडकमा शनिबार स्पिड ब्रेकर लगाइएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरले सडकमा स्पिड ब्रेकर लगाएको हो ।
बजार क्षेत्रमा हुने सवारी साधनको तिव्र गतिलाई नियन्त्रण गरी दुर्घटना नहोस् भन्ने उद्देश्यले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्पिड ब्रेकर लगाइएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
आदर्शनगरस्थित होटेल कैलास चौक, निलाम्बरी चौक, होटेल मकालु चौक र माईस्थान चौकमा लगायतका ठाउँमा कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको उपस्थितिमा स्पिड ब्रेकर जडान गरिएको उनले जानकारी दिए ।
सो अवसरमा जल्ला प्रहरी कार्यालय पर्साका कार्यवाहक प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायव निरीक्षक बसन्त नेपाल , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का, व्यवस्थित बीरगन्जका दिलीपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।