बीरगन्ज । बीरगन्ज महानगरपालिकाले सडक तथा नाला अतिक्रमण गर्ने र दुर्गन्धित गर्ने विरुद्धको कारवाही अभियान पुन शुरु गरेको छ ।
बीरगन्ज महानगरपालिका भित्र रहेको सडकपेटी, गल्ली र अन्य सार्वजनिक स्थलहरुमा निजी निर्माण सामग्रीहरु बालुवा, गिट्टी, इट्टा, डण्डी इत्यादि तथा कवाड अनाधिकृत रुपमा राखी यातायात आवतजावतमा अवरुद्ध पुर्याउने शनिबारबाट कारवाही अभियान पुनः शुरु गरिएको बीरगन्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मिँयाले जानकारी दिए ।
सडक तथा नालालाई दुर्गन्धित पारी नगरबासीलाई दुख दिने कार्यलाई निरुत्साहित पार्न बीरगन्ज महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा, नगर प्रहरी र निजी साझेदारको संयुक्त संलग्नतामा शनिबारबाट पुनः शुरु गरिएको उनले बताए ।
शनिबार बीरगन्जस्थित नगवा चौकको सेकेण्ड बाईपासदेखि वैष्णेदेवी मन्दिरसम्म र मेन बाईपासको बैष्णोदेवी मन्दिरदेखि नगवा चौकसम्म सडक अतिक्रमण गरी राखिएका विभिन्न निर्माण सामाग्री जफत गरिएको उनले जानकारी दिए । सडक तथा नाला अतिक्रमण नगर्न भनी विगत एक महिनादेखि रेडियो र माईकिंग गरी निर्माण सामाग्री हटाउन बीरगन्ज महानगरपालिकाले गरेको अनुरोधलाई बेवास्ता गरेपछि शनिबारबाट कारवाही अभियान शुरु गरिएको उनले बताए ।
सो क्षेत्रबाट महानगरपालिकाको टोलीले दुई तीन ट्याक्टर कवाड सहित १५ ट्याक्टर जति निर्माण सामाग्री जफत गरेको छ । जफत गरेको सामाग्री हाललाई बीरगन्जस्थित ल्याण्डफिल साइटमा राखिएको र बीरगन्ज महानगरपालिकाको निर्णय अनुसार कानुन बमोजिम थप कारवाही गरिने मिँयाले बताए ।
यस्तै, अनुगमन निरीक्षण र कारवाहीको लागि पुगेको टोलीले सो क्रममा प्राइभेट स्काभेटर प्रयोग गरी ढल फुटाएको भेटाएकाले सो नियन्त्रणमा लिएकामो पछि पाँच हजार जरिवाना गरेर छोडिएको सरसफाई शाखा प्रमुख मिँयाले बताए । निर्माण सामाग्री सडकमा थुपारेर सडक अतिक्रमण गर्ने, सडकमा थुपारिएको निर्माण सामाग्री र कवाडले गर्दा नाला पुरिएर पानी सडकमा आएपछि सडक दुर्गन्धित भई केही नगरवासीका कारण बीरगन्ज कुरुप बन्दै गएकाले कारवाही अभियान पुन शुरु गरिएको बीरगन्ज महानगरपालिकाले जनाएको छ । शनिबारबाट शुरु भएको अभियान नगरका विभिन्न क्षेत्रमा निरन्तर जारी रहने महानगरपालिकाले जनाएको छ ।
बीरगन्ज महानगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ को दफा २५(१२) बमोजिम ५००० रुपैया जरिवाना र निर्माण सामग्री समेत जफल गरिने प्रावधान रहेकाले सडकमा थुपारेका सामाग्री समयमा नै नहटाए कारवाहीको भागिदार बन्नुपर्ने बीरगन्ज महानगरपालिकाले जनाएको छ ।