काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै मध्यम तथा लामो दुरीको सार्वजनिक सवारी संचालन गर्न यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ।
गृह मन्त्रालयले साउन ५ गते सबै जिल्लालाई परिपत्र गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक सावारी चलाउन सहजिकरण गर्न परिपत्र गरेको थियो। गृह मन्त्रालयको परिपत्रअनुसार नै मध्य तथा लामो दुरीका सार्वजनिक सवारी चलाउन जिल्लाहरुले यातायात व्यवसायीलाई अनुरोध गरेका हुन्।
साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पालना गरेर लामो तथा मध्यम दुरीको सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय गरेको थियो। त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले लिने परिक्षाको मिति सार्वजनिक गरेकाले परीक्षार्थीलाई असहज नहोस् भन्दै सवारी संचालन गर्न दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि विभिन्न जिल्लामा निषेधाज्ञा छ। निषेधाज्ञा सुरु भएसँगै लामो दुरीका सार्वजनिक सवारीलाई रोक लगाइएको थियो।
रोकसँगै काठमाडौं उपत्यका छिर्न सबैभन्दा कठिन थियो। नागढुंगाबाट धेरै पटक यस्ता गाडीलाई फिर्ता समेत गरिएको थियो।