वीरगन्ज । सन् २०१९ मा रुसी अन्तरिक्षयात्री अलेक्सी आर्किपोविच लियोनोभको ८५ वर्षको उमेरमा निधन भयो । लियोनोभको मृत्युसँगै अन्तरिक्ष दौडको एक स्वर्णिम युगको पनि अन्त्य भयो । शीतयुद्धको समयमा अमेरिका र रुसको बीचमा शुरु भएको अन्तरिक्ष दौडका अहम कडीको रुपमा थिए लियोनोभ । जसले सन् १९६० को दशकमा रुसी अन्तरिक्ष कार्यक्रम अन्तरगर्त कस्मोनट कोरको गठन नतगरेका थिए ।
भनिन्छ सन् १९७० को दशकमा सोभियत संघको अन्तरिक्ष कार्यक्रमका प्रमुख वासिली मिसिन उनीसँग निकै बेखुस थिए । वासिलीका अनुसार संसारकै पहिलो अन्तरिक्ष स्टेसन स्याल्यूट १ मा बस्ने क्रममा लियोनोभको अन्तरिक्षमा चित्र कोर्ने पेन्सिल स्पेस स्टेसनको भेन्टिलेसन सिस्टममा फसेर अड्कियो र सोही कारण चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्न नसकेको दाबी उनको थियो । यद्यपि लियोनोभले अन्तरिक्षमा हिड्ने अर्थात् स्पेस वाक गर्ने विश्वकै पहिलो व्यक्तिको रुपमा कहिल्यै नमेटिने इतिहास कायम गरेका छन् । उनले सन् १९६५ मा स्पेस वाक गरेका थिए ।
स्पेस शूटमा खराबी
सन् १९६५ को मार्च महिनामा गरेको स्पेस वाकका क्रममा अन्तरिक्षको तापक्रम तथा जटिल परिस्थितिका कारण लियोनोभको स्पेस शूट बिग्रिएको थियो । उनले स्पेस वाक सकेर अन्तरिक्ष स्टेसनमा फर्किने प्रयास गरे । तर त्यतिबेलासम्म उनको स्पेस सुटको आधा अक्सिजन सकिइसकेको थियो । त्यसैले फर्किने क्रममा उनको शरीरमा अन्तरिक्षको शून्य गुरुत्वाकर्षण प्रभावका कारण अत्यधिक दबाब पर्यो । पूरै स्पेसवाक मिसन आपतकालीन स्थितिमा फसेको थियो । जसका कारण स्पेस स्टेसन स्वचालितको साटो म्यानुअल्ली सञ्चालन गरेर अन्तरिक्षयात्रीहरुलाई पृथ्वीमा फिर्ता गराउनु परेको थियो । उनको आइडियाले काम त गर्यो तर अवतरणका क्रममा यान अपेक्षित अवतरण स्थलभन्दा कैयौँ माइल टाढा हिउँले ढाकिएको पहाडमा गएर अवतरण गर्यो ।
एक उद्धार टोलीले लियोनोभ र उनका साथी पावेल बेलियेभलाई सुरक्षित रुपमा उद्धार गरी अन्तरिक्ष केन्द्रमा पूराए ।
यस्तो जटिल तथा ज्यानको जोखिमयुक्त आपतकालीन अवस्थामा पनि उनले निकै दरिलो धैर्य र सुझबुझ देखाए । सोही कारण उनलाई सोभियत संघले चन्द्रमामा पुग्ने पहिलो प्रयासको नेतृत्व पनि सुम्पिएको थियो ।
चन्द्रमामा टेक्ने पहिलो मानिस बन्न कसरी चुके ?
अमेरिकाको अपोलो अन्तरिक्ष कार्यक्रमभन्दा नितान्त फरक सोभियत संघले पूर्ण गोपनीयताका साथ आफ्नो पहिलो चन्द्र अभियानको तयारीमा जुटेको थियो । चन्द्रमामा उत्रने सोभियत संघको योजना निकै गोप्य राखिएको थियो । लियोनोभलाई चन्द्रमामा उत्रनका लागि एक लूनर ल्याण्डरको साटो एम आइ ४ लडाकु हेलिकप्टरमा उत्रिनका लागि प्रशिक्षित गरिएको थियो ।
प्रशिक्षणका क्रममा तय भयो कि उनी हेलिकप्टरको माध्यमबाट चन्द्रमाको सतहभन्दा ११० मिटर अर्थात् करीब ३६० फिट माथिबाट अवतरण गर्नेछन् । त्यसक्रममा हेलिकप्टरको इन्जिनलाई बन्द गरिनेछ र अटो रोटेसनमा उतारिनेछ ।
तर सन् १९६६ मा सोभियत अन्तरीक्ष कार्यक्रमका प्रमुख डिजाइनर तथा ड्राइभिंग फोर्सका निर्देशक सर्गेइ कोरोलेभको मृत्यु भएपछि रुसको चन्द्र अभियानको योजनामा धक्का लाग्यो । उनको मृत्युपछि रुसको अन्तरीक्ष कार्यक्रमले आफ्नो गति गुमायो । यदि सर्गेइ कोरोलोभको असामयिक निधन हुन्नथ्यो भने निल आर्मस्ट्रंगको साटो लियोनोभ चन्द्रमामा पाइला टेक्ने महिलो मानव बन्न सक्दथे । किनकि रुसी अन्तरिक्ष यानको डिजाइन तथा अवतरणको टिम यो मिसन सफल हुने शत प्रतिशत विश्वासमा थियो । तथापि सन् १९६९ को जुलाई २० मा अमेरिकाको अपोलो यानमा सवार निल आर्मस्ट्रंगले जब चन्द्रमामा पाइला टेके त्यहीँ बेला नै रुसले आफ्नो चन्द्र मिसनको कार्यक्रम रद्द गरिदियो ।
सोभियत यानको विशेषता
सोभियत संघको एलओके एन वान अन्तरिक्ष यान १०५ मिटर अग्लो अर्थात् करीब ३४५ फिट लामो थियो ।
नासाको स्याटर्न बि लञ्चरमा रहेका पाँच वटा इन्जिनको तुलनामा एलओके एन १ मा ३० वटा इन्जिन थिए जो दुईवटा वृत्तमा व्यवस्थित थिए ।
विभिन्न स साना इन्जिनलाई जोडेर एन१ तयार गरिएको थियो । यदि कुनै आपतकालीन परिस्थितिको सिर्जना भएमा पनि यात्रुहरुलाई सुरक्षित रुपमा पृथ्वीमा ल्याउन सकियोस् भन्ने हेतुले त्यसको डिजाइन गरिएको थियो ।
एजेन्सीको सहयोगमा