विराटनगर । विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि सुदर्शन न्यौपानेको शव फेला परेको हो ।
प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्।
डीएसपी कार्कीले शवको पहिचान भइसकेको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको बताए । मृतकको आफन्तले भने न्यौपानेको हत्याको आशङ्का गरेका छन् ।
मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकलमाथि राखिदिएको हुनसक्ने आशङ्का गरे । शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा भएकाले हत्या भएको हुनसक्ने सन्तोषले बताए ।