वीरगन्ज । जापानी कार कम्पनी निसानका पूर्व प्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ । निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकीलाई दोषी ठहर गरेको हो । उनीहरू बाबुछोरा भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टोकियो अदालतले अमेरिकी विशेष बलका भूतपूर्व सैनिक ६० बर्षीय माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उहाँका छोरा पिटरलाई अठार महिना जेल सजाय सुनाएको छ । जापानी अभियोजनकर्ताहरुले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।
जापानमा कुनै पनि मुद्दामा आरोपितलाई हिरासतबाट उम्किन सघाउने व्यक्तिलाई कम्तीमा तीन बर्ष जेल सजाय हुनेगर्दछ । अमेरिकी बाबुछोरा दुबैलाई जापानमा मुद्दा परेका गोनलाई एउटा सामान राख्ने बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले जापान समक्ष सुपुर्दगी गरेको थियो ।
डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरामाथि लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको छ । दुबै व्यक्तिले अभियोग स्वीकार गरेका र आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका बताइएको छ ।
माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए।
आर्थिक अनियमिततासम्बन्धी आरोपमा निसान कम्पनीका पूर्व प्रमुख गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए । सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो ।