विराटनगर | भन्सारले न्यून मूल्यांकन गरेर छाडेका दुई ट्रयाक्टर टिसर्ट प्रहरीले बुधबार राति नियन्त्रणमा लिई राजस्व अनुसन्धानलाई बुझाएको छ । भारतबाट आयात गरिएको प्रतिगोटा ५ सय ९९ रुपैयाँ एमआरपी मूल्य उल्लेख गरिएको टिसर्ट भन्सारले सय रुपैयाँ मूल्यांकन गरेर छाडेको थियो । प्रहरीले उक्त सामान विराटनगरको जतुवास्थित हनुमान मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो ।
कपडाको आयातकर्ता अकवर अली भन्सार एजेन्ट पनि हुन् । उक्त कपडाको भन्सार जाँचपास एजेन्ट अलीसहित अधिकृत निर्माण भट्टराई र नायब सुब्बा राजेन्द्र ढुंगानाले गरेको भन्सार स्रोतले जनाएको छ । अलीले को१त ६८११ र बीआर ५०–६५०३५ नम्बरको ट्रयाक्टरमा टिसर्ट ल्याएका थिए । त्यसमध्ये को१त ६८११ नम्बरको ट्रयाक्टरमा ल्याएको सामान मात्र भन्सार जाँच गराएर अर्को ट्रयाक्टरको सामान कर्मचारीको मिलोमतोमा भन्सार चेक जाँच नै नगराई एउटै प्रज्ञापनपत्रबाट भन्सार गेटबाट बाहिर निकालेको पाइएको प्रहरीको भनाइ छ ।
करिब १५ लाख मूल्य बराबरको टिसर्ट प्रहरीले पक्राउ गरेको आयातकर्ता अलीले स्वीकारेका छन् । दुवै ट्रयाक्टरका सामान भन्सार जाँच गरेर छाडेको भन्सार प्रमुख शिवप्रसाद भण्डारीको दाबी छ । यसअघि उनै अलीले भन्सार एजेन्ट भरत भगतमार्फत अवैध रूपमा भित्र्याएको कपडा प्रहरीले विराटनगर–६ मा रहेको उनको गोदाममा छापा मार्दा ४ हजार २ सय ८८ पिस हाफ पाइन्ट, ४ सय ३० थान भेस्ट, ४४ जोर जुत्ता र २ सय २० थान बच्चाको कपडा बरामद गरेको थियो । प्रहरीका अनुसार ती सबै सामान अलीले एउटै प्रज्ञापनपत्र दोस्रो पटक प्रयोग गरेर भित्र्याएको पुष्टि भएको थियो ।