भारत | भारतीय सरकारले पाकिस्तानमा रहेका कूटनीतिज्ञ र उनीहरूका परिवारलाई सतर्क रहन आग्रह गरेकाे छ। पाकिस्तानका लागि अफगान राजदूतकी छोरी अपहरणमा परेपछि भारतले आफ्ना नागरिकलाई सचेत गराएकाे हाे।
अफगानिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानका लागि अफगान राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई शुक्रबार घर फर्किरहेको बेला अज्ञात व्यक्तिहरूले अपहरण गरेका थिए।
उनलाई घण्टासम्म घोर यातना दिइएकाे थियाे। अपहरणमुक्त भएकी उनकाे अहिले उपचार भइरहेको छ।यस घटना लगत्तै भारतीय विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञ र नागरिकलाई सुरक्षित रहन आग्रह गरेकाे छ। भारतीय सरकारी स्रोतहरूका अनुसार विशिष्ट कर्मचारीहरूलाई नियमित रूपमा सरकारले सचेत गराइरहेकाे छ।
यता, अफगानले वाणिज्य दूतावासको सुरक्षाका साथै कूटनीतिज्ञ र उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गर्न पाकिस्तान सरकारलाई आग्रह गरेकाे छ। साथै, घटनामा संलग्न व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय सन्धि र सम्झौता अनुरुप तुरुन्त कारबाही गर्न आग्रह गरेको छ।