वीरगन्ज । विश्व स्वास्थ्य संगठनको प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोनाविरुद्धको विभिन्न खोप लगाउनु खतरनाक हुने बताएकी छन् ।
अनलाइन ब्रिफिङमार्फत उनले अलग अलग कम्पनीका खोप एउटै व्यक्तिले लगाउनु खतरनाक हुनसक्ने बताएकी हुन् । उनले यसको असरबारे धेरै कममात्र तथ्याङ्क उपलब्ध भएको प्रस्ट पार्दै यससँग सम्बन्धित वैज्ञानिक तथ्य र प्रमाण नरहेको जनाएकी छन् ।
कोरोनाका विभिन्न खोपलाई ‘मिक्स–म्याच’ गर्नु ‘खतरनाक प्रवृत्ति’ रहेको उनको भनाइ छ । अहिले अध्ययनकै क्रममा रहेका कारण यसबारे प्रतीक्षा गर्न आवश्यक रहेको उनले बताएकी छन् ।
यसैगरी ‘बुस्टर शट्स’ का बारेमा पनि उनले जिम्मेवार हुन जरुरी रहेको बताइन् । उनले भनिन्, ‘नागरिकले नै खोपको दोस्रो, तेस्रो वा चौथो खुराक कहिले लिने भन्ने निर्धारण गर्ने हो भने देशहरुमा अराजक स्थिति सिर्जना हुन्छ ।’
एउटा कम्पनीको खोप लगाएका व्यक्तिले दोस्रो डोजमा फरक कम्पनीको खोप लगाउन हुन्छ कि हुँदैन भन्नेबारे अन्योल कायम रहेको अवस्थामा प्रमुख वैज्ञानिक स्वामीनाथनको यस्तो प्रष्टोक्ति आएको हो ।