वीरगन्ज । नेपाल धितोपत्र बोर्डको पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका छन् । उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाई भएकोमा चासो राख्दै तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने बताए ।
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफलमा बोल्दै उनले अन्तरराष्ट्रिय रुपमा पनि बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएको भन्दै यसले संस्थागत सुशासन र बजार विस्तारमा सहयोग गर्ने र कर्पोरेट कल्चरको विकास हुने उनले दाबी गरे ।
उनले नयाँ स्टक एक्चेञ्जको लागि पनि चाँडो लाइसेन्स दिनुपर्ने बताए । “आधुनिक स्टक एक्चेञ्ज कर्पोरेट मोडेलमा ल्याउनुपर्छ, जसले बजारलाई प्रविधिमैत्री र आधुनीक बनाउँछ,” कार्कीले भने । उनले व्यक्तिगत लगानीमा भने स्टक लाइसेन्स दिन नहुने बताए ।
पूर्व अध्यक्ष कार्कीले नेप्सेको अहिलेको सिस्टमले बजार सञ्चालन हुन नसक्ने भन्दै नेप्सेलाई अन्तरराष्ट्रिय रुपमा टेस्टेड नयाँ सिस्टममा छिटोभन्दा छिटो ल्याउन निर्देशन दिनुपर्ने बताए । बोर्ड मात्रै नभएर नेप्सेले पनि बजारको सशक्त नियमन निकायको रुपमा आफ्नो भूमिका निभाउनुपर्ने उनले बताए ।
बजारमा दिगो विकासका लागि दलाल व्यवसायीको क्षमता विस्तार र पुँजी वृद्धि गरेर बजार प्रतिस्पर्धात्मक बनाउन स्टक डिलरको काम गर्न दिनुपर्ने उनको सुझाव छ ।
बोर्डका पूर्व अध्यक्ष कार्कीले बजार विस्तार भइरहे पनि अझै ९० प्रतिशत कारोबार हल्लाको भरमा चलेको बताए । यसले बजारमा जोखिम भएको उनको बुझाइ छ । अहिलेको इन्डेक्स र संरचना विष्लेषण गर्दा बजार अस्वस्थ रहेको उनको टिप्पणी छ । जुन दरले बजार बढेको छ त्यसलाई फन्डामेन्टल दरले सपोर्ट नगरेको उनको भनाइ छ ।
नेप्से बढेसँगै बजारको साइज बढे पनि समष्टिगत बजारको संरचना हेर्दा सामान्य रहेको उनले बताए । बजारमा सूचिकृत संस्था नबढेको भन्दै बोर्डलाई यसमा ध्यान दिन उनले सुझाव छ ।