एजेन्सी | आजभोलि हरेकजसो सौन्दर्य प्रशाधनका सामग्री बेच्ने पसलमा महिलाहरुको निकै भीड लागेको हुन्छ । एउटै पसलमा सबै ब्रान्डका सामान हुने भएकाले कतिलाई मेकअप किन्नु झन्झटिलो काम पनि लाग्छ– कुन क्रिमले छालालाई सुट गर्छ भन्ने कतिलाई थाहा नै हुँदैन ।जो होरगन पनि यही कारणले निकै सताइएकी थिइन् । फ्रेन्च कम्पनी लोरियलमा प्रोजेक्ट म्यानेजरका रुपमा काम गर्ने जो होरगनले यही झन्झटका कारण जागिर छोडिन्, आफ्नो घर बेचिन् र आफ्नै पसल सुरु गरिन् ।
मेक्का नामको पसल सुरु गरेर जो होरगनले अरबन डिके, नार्सजस्ता बहुचर्चित कम्पनीका मेकअप बेच्न थालिन् । उनले खोलेको पसलमा चाहिँ ग्राहकलाई सबै सामानबारे खुलस्त बताइन्थ्यो । यसले ग्राहकलाई सहज बनाउन थाल्यो ।सन् १९९७ मा यो एउटा नयाँ कन्सेप्ट थियो । त्यसैले पनि यो कम्पनीका शाखा छोटो समयमा नै बढ्न थाले ।अष्ट्रेलिया र न्युजिल्यान्डमा मात्र अहिले मेक्काका ८७ स्टोर छन् । र, यी स्टोरहरुबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ । सही समयमा सही निर्णय गरेकाले नै अहिले जो होरगन अष्ट्रेलियामा मेकअपबारे कुरा गर्दा सबैभन्दा पहिले लिइने नाम भएको छ ।
लन्डनमा बाल्यकाल बिताएकी जो होरगनले आमाले मेकअप गर्दा निकै चाख दिएर हेर्थिन् । त्यसपछि नै उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । उनी १४ वर्षकी हुँदा उनको परिवारले लन्डन छोड्यो ।अष्ट्रेलियाको पर्थमा बसाइसराइ गरेको परिवारमा जो होरगनले सुरुमा पढाइलाई नै प्राथमिकता दिइन् । अमेरिकाको बोस्टन विश्वविद्यालयमा कम्युनिकेसनमा मास्टर्स गरेपछि पहिलेकी अंग्रेजी साहित्यकी विद्यार्थी जो लन्डन पुगेर लोरियलमा काम गर्न थालेकी थिइन् । लोरियलको जागिर छोड्दा जो होरगन २९ वर्षकी थिइन् ।त्यसपछि उनले मेक्का सुरु गरिन् । तर, बीचमा अनेक समस्या झेल्नु पर्यो । जो होरगनले हार मानिनन् । बरु समयअनुसार आफ्नो व्यवसायलाई अपडेट गर्दै गइन् । त्यसैले त अहिले पनि जो होरगनले अष्ट्रेलियाको मेकअप व्यवसायमा एकक्षत्र राज गरिरहेकी छिन् ।