वीरगन्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले डुबानमा परेको आदर्शनगरमा उद्धारका लागि डुङ्गाको व्यवस्थापन गरेको छ ।
विगत ३ दिनदेखिको लगातार वर्षाका कारण वीरगञ्जको आदर्शनगर जलमग्न भएपछि आपतकालिन उद्धारका लागि स्थानीय समाजसेवी एवम् घडिअर्वा पोखरीका सञ्चालक सुशील कानुले केन्द्रलाई डुङ्गा उपलब्ध गराएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्ज युवा समाज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सयुँक्त पहलमा उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।
हरेक वर्ष आदर्शनगर क्षेत्र डुबानमा पर्दा व्यवसायी एवम् आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती खेप्नुपर्ने हुँदा आपतकालित उद्धारका लागि डुङ्गा उपलब्ध गराइएको कानुले बताए । शुक्रवार कानुले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, केन्द्रका अध्यक्ष खेतान लगायतको उपस्थितीमा डुङ्गा हस्तान्तरण गरेका हुन् ।
डुबानको जोखिममा रहेकाहरुको उद्धार गर्न र समस्यामा परेकाहरुलाई सहयोग गर्न वीरगञ्ज युवा समाज सदैव तयार रहेको समाजका अध्यक्ष चौगाईको भनाई छ ।