वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले चोरीका मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षीय आजाद मियाँलाई प्रहरीले चोरीको मोटरसाइकलको लक बनाउने क्रममा रंगे हात पक्राउ गरेको हो ।
सोही वडामा मोटरसाइकलको चावी लक बनाउन ग्यारेज पुगेको बेला उनीमाथि शंका लागेर सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हो । ना ३९ प ३८२४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल असार १४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही निवासी कृष्ण शर्माले आफ्नै घरको आँगनमा पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।
त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने रोज मोहम्मदको ना.२८प.१३३७ नम्बरको साइन मोटरसाइकल पनि मियाँले सोही दिन चोरी गरेको अनुसन्धानको क्रममा खुलेको छ । दुवै मोटरसाइकल नियन्त्रणमा लिई पक्राउ परेका मियाँमाथी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।