वीरगन्ज । कोरोना भाइरस संक्रमणको कारण वीरगन्जको नारायणी अस्पतालमा दुई महिना देखि बन्द रहेको जनरल उपचार सेवा (बहिरङग ,शल्यक्रियालगायत ) उपचार सेवा शुक्रबारदेखि फेरि सुचारु हुने भएको छ ।नारायणी अस्पताल प्रशासनले बुधबार एक सूचना प्रकाशित गरेर अस्पतालमा बहिरङग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गते शुक्रबारदेखि सुचारु गरिने जानकारी गराएको हो ।
कोरोना संक्रमण दर उच्च भएपछि पर्सामा वैशाख १६ गते देखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । त्यहि दिनदेखि नारायणी अस्पतालमा कोभिड संक्रमितको उपचार र आकस्मिक उपचार बाहेक ओपडीलगायतका अरु सबै सेवा बन्द गरिएको थियो ।
तर अहिले अस्पतालमा कोरोना संक्रमितको संख्या घट्दै गएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी अपनाएर असार १८ गते देखि ओपीडी लगायतका सेवा सुचारु गर्न लागिएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानले जानकारी दिए । संक्रमणको जोखिम अझै पनि कायम रहेका कारणले असार १८ गते देखि ओपीडी सेवातर्फ हरेक विभागमा दैनिक २०/२० जना मात्र बिरामीको चेकजाच र उपचार गरिने उनले बताए ।अर्को निर्णय नभएसम्मका लागि ओपीडी सेवा बिहान ९ बजे देखि बिहान ११ बजे सम्म मात्र संचालन गरिने जानकारी पनि उनले दिए ।वीरगन्जमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि नारायणी अस्पतालमा आकस्मिक बाहेक अरु रोगका उपचार सेवा बन्द गरी कोरोना संक्रमितको उपचारका लागि १४५ शैयाको व्यवस्थापन गरिएको थियो ।नारायणी अस्पतालमा बुधबार ७ जना मात्र संक्रमित भर्ना छन् ।
बाँकी १३८ शैया खाली रहेको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनले भने,‘ अहिले ५ जना एचडियुमा र २ जना आइसियुमा छन् , भेन्टिलेटर पुरै खाली छ। ‘ डाक्टर सिंहका अनुसार , दोस्रो लहरमा नारायणी अस्पतालमा बुधबारसम्म उपचारका लागि ७ सय ५४ संक्रमित भर्ना भएकोमा ती मध्ये ५७३ जना उपचार पछि निको भइ घर फर्किएका छन् ।यस्तै अस्पतालमा उपचारका क्रममा १८१ जना संक्रमितको मृत्यु भएको जानकारी डाक्टर सिंहले दिए ।
हाल अस्पतालमा ७ जना मात्र संक्रमित उपचाररत रहेको उनले बताए । डाक्टर सिंहले शुक्रबारदेखि शल्यक्रिया , मेडिकल, सर्जिकललगायतका सेवा पनि क्रमीक रुपमा सुचारु गरिने जानकारी दिए । आकस्मिक उपचार , डाइलोसिस , प्रसूति र आकस्मिक शल्यक्रिया सेवा कहिले पनि नरोकिएको भन्दै उनले भने,‘ अब शुक्रबारदेखि अस्पतालका सबै सेवा क्रमीक रुपमा सुचारु गरिनेछ ।’नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र मकवानपुरका गरी ५ जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् ।