जनकपुरधाम | ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यापारीलाई जिल्ला सरकारी वकिल कार्यालयले एक रात हिरासतमा राखेपछि छाडेको छ।प्रेमकुमार मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। बुधबार सरकारी वकिल कार्यालयले उनलाई छाडेको हो। धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले देवानी प्रकृतिको मुद्दा भएकाले मल्ल छुटेको बताए। तर, प्रहरीले मल्लविरुद्ध ठगीमा जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी पनि लिएको थियो।
प्रहरीमा जाहेरी दिएका निर्माण व्यवशायी राजकिशोर शाहले जिल्ला प्रहरी प्रमुख प्रकाश रानाभाट, जिल्ला सरकारी वकिल सिताराम अर्यालको मिलेमतोमा मल्ललाई छाडिएको आरोप लगाएका छन्। सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले मल्लले छुटाउन ‘लविङ’ गरेको आरोप शाहको छ। मल्ल र र सहायक रथी केसी नातेदार हुन्।
आरोपित मल्ल ललितपुर सानेपाका प्रेरा निर्माण सेवाका सञ्चालक हुन्। मल्ल र साह व्यापारिक साझेदार हुन्।
मल्ललाई बुधबार बिहान प्रहरीले अदालतमा समेत पेस नै नगरी रिहा गरेकाे आराेप शाहको छ। सहायकरथी केसी आफूलाई धम्की दिइरहेको भन्दै उनले सुरक्षाको माग पनि गरेका छन्। मल्ल छुटेको विषयमा प्रहरी उपरीक्षक रानाभाटले प्रतिक्रिया दिन मानेनन्।
चितवन घर भएका ६८ वर्षीय मल्ल र जनकपुरधामका साह साझेदारीमा ठेक्कापट्टा गर्दै आएका थिए। तीन वर्षअघि व्यवसायका लागि कागजी सहमती गरेर जनकपुरधामकाे थापा चोकस्थित आफ्नो २२ धुर जग्गा ठेकेदार मल्लको नाममा पास गरिदिएको दावी शाहको छ।
तर उक्त जग्गा सम्झौता विपरीत जानकारी नै नदिई मल्लले बेचेको भन्दै साहले जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराएका थिए।
मल्लमाथि ठगी मुद्दा चलेपछि उनको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता प्रहरीले रोक्का समेत गरेको छ। साहले सहायक रथी केसीले सहमतिमै यस मुद्दाको टुंगो लगाउन दबाब दिने गरेको बताए।
यता सहायक रथी केसीले मानवताको हिसाबले आफूले कानूनी प्रक्रिया पुर्याएर मल्ललाई हिरासतमुक्त गराएको बताए। ठेकेदारद्वय साह र मल्लको सम्बन्ध पुरानो रहेकोले उनीहरुको विवादमा जानकारी पाएपछि सहमतिमै विवाद समाधान गर्न पहलकदमी गरेको उनकाे दाबी छ।
गलत कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने भन्दै उनले यदी आफूले गलत गरेको भए कारवाही भोग्न तयार रहेको समेत बताए। साथै उनले व्यवसायी साहलाई कुनै प्रकारको धाकधम्की नदिएको दाबी गरे।