प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पाण्डेले दुई घण्टा बहस गर्नेछन् ।
आजको बहसमा प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले पाण्डेसँग विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका पाण्डेलाई प्रधानन्यायाधीश जबराले उक्त प्रश्न गरेका हुन् ।
बहसको सुरुमा पाण्डेले ‘विश्वासको मत पाउँदिन, धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर’ राष्ट्रपतिकहाँ गएको बताएका थिए । पाण्डेको उक्त तर्कलगत्तै प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?’
प्रधान्यायाधीश जबराले सोधेको प्रश्नको उत्तर दिँदै नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले प्रधानमन्त्री संसदमा नगएको बताएका छन् ।
‘मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसदमा जानुपर्दैन’, पाण्डेले उत्तर दिँदै भने, ‘विश्वासको मत प्राप्त नगर्ने कन्फर्म थियो । र विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसदमा पेश गर्नुपर्छ भन्ने व्यवस्था छैन । यो भएको भए पाउन र नपाउन पनि संसदमा जानुपर्दथ्यो । त्यसकारण विश्वासको मत नपाउन संसदमा गैरहन पर्दैन ।
नायव महान्यायाधिवक्ता पाण्डेले विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसदमै पेस गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा नभएको जिकिर समेत गरेका छन् ।